निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

लमजुङ, कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो।

बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ ।

विषेशगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुनडाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । घेर्मुका घनश्याम घलेका अनुसार घेर्मुफाँटमा सिँचाइको सुविधा भएसँगै कोरोना सङ्क्रमणका बीच पानी भएको बेला धान रोप्न शुरु भएको छ ।

उहाँले भन्नुभयो, “यस फाँटमा दैनिक छ÷सात जना किसानको रोपाइँ हुने गरेको छ भने एउटै मेलामा ३५÷४० जना खेताला हाल्दै आएको छ । आइतबारबाट शुरु गरेको थिएँ, मेरो १० रोपनी जग्गामा आज रोपाइँ सम्पन्न हुन्छ ।” त्यसपछि पर्म तिर्नका लागि अरुको रोपाइँमा जाने घलेले बताउनुभयो ।

यहाँ उहाँसहित थमनबहादुर घले, पूर्ण घले, किसान गुरुङलगायतका किसानले रोपाइँ गरिरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहे पनि यहाँ रोपाइँमा भने कसैले पनि मुखमा मास्क प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम भएको छैन ।

स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् ।

यसबाहेक पनि सुन्दरबजार दुराडाँडामा समेत केही दिनमै रोपाइँ शुरु गर्ने तयारी भएको छ । त्यस्तै बेँसीशहर नगरपालिका–११ रामचोक फाँटमा रोपाइँको तयारी भइरहेको र यतिबेला बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईँले बताउनुभयो ।

क्व्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष राजु गुरुङले भन्नुभयो, “चार÷पाँच दिनपछि घाम्राङबेँसीमा किसानले धान रोपाइँ गर्ने तयारी गरिरहेका छन् । अब यहाँका किसानलाई धान रोप्न भ्याइनभ्याइ हुनेछ ।”। जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

यहाँका किसानले जेठोबूढो, सावित्री, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस–३१२, उपज, वर्षे ३००४ लगायत वर्णसङ्कर जातका धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्ष जिल्लामा १४ हजार २८० हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा बर्सेनि धान उत्पादनमा वृद्धि भइरहेको छ ।

यस वर्षसमेत समयमै पानी परेमा धान वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । यद्यपि कोरोना सङ्क्रमणको जोखिमले राम्रोसँग धानखेती गर्न सकिने अवस्था हुन्छ कि हुँदैन भन्ने चिन्तामा भने रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।