भारतीय बजारमाथि किसान निर्भर ;ब्याड राख्ने बेलामा धानको बीउ अभाव

वीरगञ्ज, स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।

धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरिद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए ।

“अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं”, जगरनाथपुर गाउँपालिका—६ का किसान रुपनारायण प्रसादले राससलाई भन्नुभयो, “सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरिद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।”

उहाँले भारतीय बजारबाट धानको बीउ खरिद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताउनुभयो ।

“नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्”, कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भन्नुभयो, “यो धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।”

कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रु एक सय लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका—७ का किसान सुरेन्द्र रौनियारले भन्न्ुभयो, “अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ । प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।”

नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ । पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।

यो वर्ष मनसुन चाडै भित्रिएपछि यहाँ किसानले पनि चाडै ब्याड राख्न थालेका छन । विगतमा यहाँका किसानले जेठ १५ गते देखि धानको ब्याड राख्न शुरु गर्ने गरेका थिए । पर्सामा चैते धान ३ हजार ५ सय हेक्टर, भदैया ८ हजार ५ सय ५० हेक्टर र अगहनी ३५ हजार हेक्टर गरी कूल ४७ हजार ५० हेक्टरमा क्षेत्रफलमा धान खेती हुदै आएको छ । सरकारले स्वर्णासव— १, बहुगुणी—२, सोना मन्सुली— १, हर्दिनाथ—१ र साबित्री जातको धानको बीउमात्र बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

सोना मन्सुली धानको बीउको अभाव भएपछि सिमा क्षेत्रका ग्रामीण किसान भारतबाट सो धानको बीउ किनेर ल्याउँदा गुणस्तरहीन हुने, उत्पादन क्षमता कम हुने र ठाउँ ठाउँमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्दै छिपहरमाई गाउँपालिका—५ भिस्वाका किसान हरिओम साहले भन्नुभयो, “सरकारले किसानलाई आवश्यक पर्ने बीउबिजन स्थानीय तहमा उपलब्ध गराउन नसक्दा बीउको लागि भारतीय बजारमा भरपर्नु पर्ने बाध्यता रहेको छ ।

प्रदेश नं २ सरकार र स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि वार्षिक करोडौं रुपैयाँको बजेट विनियोजन गरेपनि किसानलाई चाहिने धानको बीउ उपलब्ध गराउन नसक्दा पर्साका किसान भारतीय बीउमा परनिर्भर हँुदै गएपछि उत्पादनमा समेत असर पर्न थालेको किसान बताउँछन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।