निषेधाज्ञाका कारण गहँु खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएन

वीरगञ्ज, सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहँु खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन सकेको छैन ।

सङ्घीय सरकारले सो कार्यालयलाई किसानबाट समर्थन मूल्यमा प्रतिक्विन्टल रु तीन हजार १११ का दरले तीन हजार क्विन्टल गहँु खरीद गर्ने लक्ष्य दिएकामा गत वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञाका कारण हालसम्म २१६ क्विन्टल गहुँमात्र खरीद गर्न सकिएको कार्यालय प्रमुख विकास कटुवालले राससलाई बताउनुभयो ।

एक त लामो समयदेखि जारी रहेको निषेधाज्ञाका कारण किसान गहँु बेच्न कार्यालयमा आउन नसकेको तथा दोस्रो मैदा मिलले ग्रामीण क्षेत्रका किसानको घरमै गएर गहुँ खरीद गर्न थालेपछि सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन नसकेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो । सरकारले गहँु खरीदको समर्थन मूल्य तोके पनि निजीस्तरका मैदा मिलले सोही मूल्यमा गहँु खरीद शुरु गरेकाले पनि लक्ष्य प्रभावित भएको सो कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा पर्सामा यस वर्ष रु १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबर पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भए पनि कार्यालयले लक्ष्य प्राप्ति गर्न नसक्नुको प्रमुख कारण लामो समयदेखि लागेको निषेधाज्ञाले किसान बजारसम्म आउन नसक्नु नै भएको बताइन्छ ।

यस वर्ष जिल्लामा किसानले २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहँु खेती गरेकामा ८५ हजार ९६५ मेट्रिक टन गहँु उत्पादन गरेको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव तीन मेट्रिक टन उत्पादन भएको बताइएको छ ।

किसानले गहँु खेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यस वर्ष पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहँु उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताउनुभयो ।

अघिल्लो आवमा पर्साका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरेकामा ८० हजार ६०० मेट्रिक टन गहँु उत्पादन गरेको थियो । धान खेतीभन्दा बढी आम्दानी गहँु खेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहँु खेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

किसानले यस वर्ष विजय एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहँु खेती गरेको थियो । किसानले उत्पादन गरेको गहुँमध्ये ५० प्रतिशत बिक्री गर्ने गरेको र बाँकी गहँु वर्षभरि आफँै खानका लागि राख्ने गरेका छन् ।

पर्साका किसानले यस वर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मुसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिक टन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेती गरी १६२ मेट्रिक टन उत्पादन गरेको छ । यसैगरी राजमा पाँच हेक्टर क्षेत्रफमा खेती गरी १४ मेट्रिक टन उत्पादन गरेको छ । त्यस्तै किसानले रहर १५ हेक्टर क्षेत्रफलमा खेती गरी १५ मेट्रिक टन उत्पादन गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।