लगनशील भए कृषिमा पनि भविष्य

धादिङ, खोरभरी बोयर बाख्राका चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ…म्याँले एउटा गाउँ हरदिन तरङ्गित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् ।

उहाँको मेहनतले सिञ्चेका भर्भराउँदा बोयर बाख्रा देख्दा जो कोहीको मन लोभिन्छ । यतिखेर उहाँको खोरमा ८० बाख्रा छन् । जसमा दुई व्याडेसहित १२ बोका, १० पाठापाठी र अरु सबै ६० माऊ छन् । बोयर पाल्न थालेपछि उहाँलाई नसोचेको जस्तो प्रगति हुँदैछ । बाख्रालाई घाँस पानी दिदैँ उहाँले भन्नुभयो, “एक वर्षमा ५० बाट ८० बनाएँ, आगामी साउन भदौसम्ममा १०० नाघ्छ, अनि त्यसपछि मात्र विक्री शुरु गर्छु ।”

विश्वकर्मा किशोरावस्थादेखि नै आफ्नै देशमा सुन फलाउने सपना देख्नुहुन्थ्यो । त्यसैले गाउँका धेरै युवा विदेश हानिँदा पनि उहाँको पाइला गाउँबाट छुटेन । तर कृषि प्रधान देश भए पनि कृषिबाटै उकासिनु भनेको ढुङ्गा फोरेर बाहिर निस्कनु जस्तै थियो । आफ्नै गाउँ धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका–३ खानीगाउँमा वर्षौँ उहाँले पसिना बगाउनुभयो ।

उकालीओराली, देउराली, भिरालोका पाखापखेरामा के गर्दा होला भनेर आत्मपरीक्षणमा बारम्बार होमिनुभयो । उहाँले भन्नुभयो, “२०५४ सालमा हातमा हँसिया र कोदालो बोकेर पाखा पखेरा उक्लेको आजै जस्तो लाग्छ, तर २४ वर्ष वितिसक्यो ।” काँचो माटो र हरिया घाँसबीच उहाँलाई कहिले सफलता त कहिले विफलतासँग पौँठेजोरी खेल्नुपर्यो । जति नै ठक्कर खाए पनि हँसिया र कोदालोको साथ भने छाड्नु भएन ।

काठमाडौँ मोडेल कृषि फर्म तथा रिसर्च सेन्टर दर्ता गरेर कृषि कर्म गर्दै आउनुभएका उहाँ शुरुमा कफी, त्यसपछि स्थानीय बाख्रा, बङ्गुर, माछाखेती हुँदै एक वर्षदेखि बोयर जातको बाख्रा पालनमा सक्रिय हुनुहुन्छ । फेरि नयाँ सोचका साथ २०७७ जेठ २७ गते मकवानपुरको हाँडिगाउँबाट ५० बाख्रा ल्याएर व्यवसाय शुरु गर्नुृ भएको हो । राम्रो र सस्तो पाइने सुनेर उहाँ बाख्रा किन्न त्यहाँ पुग्नु भएको थियो । नभन्दै सोचेजस्तो भयो ।

किसान समूहकै बाख्रा प्राप्त भएको उहाँले सुनाउनुभयो । शुरुमा खरिद गर्दा जिउँदोमा प्रतिकिलो रु एक हजार २०० परेको थियो । अन्य कृषि औजार, खोर निर्माण, दानापानी र अन्य तयारी गर्दा झण्डै रु ५२ लाख लागत लागेको छ । त्यसभित्र १८ रोपनीको घाँससमेत पर्छ । त्यसभित्र प्रतिरोपनी वार्षिक तीन हजार भाडा तिरेर १० रोपनी भाडाको जग्गा छ । उक्त जग्गामा बकाइनो, किम्बु, इपिलिपी, बडहर, मरिङ्गा, खनायो, टाँकीलगायतका घाँस रोपिएको छ । घाँसमा मात्रै झण्डै रु तीन लाख लगानी भएको उहाँको भनाइ छ ।

विगतमा जमुनापारी र लोकल जातको बाख्रा पालेको अनुभवका कारण अहिले बोयर पाल्न त्यती कठिनाई नपरेको बताउँदै उहाँले अहिलेसम्म व्यवसायिक बिक्रीभन्दा पनि खोर विस्तारमा जोड दिँदै आएको जानकारी दिनुभयो । “एक वर्षमै अहिलेको मुल्याङ्कनमा झण्डै ७० लाखको हाराहारी भएको छ”, विश्वकर्माले भन्नुुभयो, “लगानी रु एक करोड पुर्यएर व्यवसायिक बिक्री शुरु गर्ने लक्ष्य छ, पाँच वर्षमा लगानी उठाउँछु ।”

खोरमा अहिले व्याडे बोका र माउ तयार भएका छन् । अब विस्तारै बिक्री थाल्ने सोच बनाउनुभएका उहाँले बिक्री नभएका बोकालाई खसी बनाएर व्यवसायिक बिक्री गर्ने योजना बनाएको बताउनुभयो । मासु प्रतिकिलोमा जिउँदो ६०० सम्म जाने र व्यडका लागि १५ देखि १८०० सम्मा विक्री हुन्छ । पाठी प्रतिकिलो रु १ हजारसम्म जान्छ ।

बाख्रा पालनमा केही सरकारी अनुदान भए पनि धेरै ऋण लगानी भएको उहाँको भनाइ छ । वाग्मती प्रदेश सरकारबाट रु १८ लाख अनुदान सहयोग प्राप्त भएको छ । बैँक र सहकारीबाट १५÷१५ लाखको हाराहारीमा ऋण लिएको छ । आगामी पाँच वर्षमा लगानी उठाउने योजनाका साथ बोयर विकासमा सक्रिय हुनुहुन्छ, विश्वकर्मा । विविध समस्याका बीच विश्वकर्मा कृषिमा भविष्य देख्नुहुन्छ । “तत्कालै प्रतिफल नआउँला, तर कालान्तरमा आम्दानी आएरै छाड्छ, कृषिमा भविष्य छ”, उहाँले दृढताका साथ भन्नुभयो, “आफूले कृषि पेशा नछाड्नुको मूल कारण पनि त्यही हो।”

यसरी भयो शुरुवात

हुनत् विश्वकर्मा पुराना किसान हुनुहुन्छ । २०५४ सालदेखि नै कृषिको व्यवसायिक खेतीमा संलग्न हुनुहुन्थ्यो । कतै सफलता मिल्यो त कतै पीडा पनि । धेरै युवा विदेश पलायन भइरहेको अवस्थामा उहाँले आफ्नै देशमा सङ्घर्ष गरेर अरुलाई प्रेरणा दिइरहनुभयो ।

शुरु (२०५५–२०६८) मा कफी खेती थियो । कफीमा राष्ट्रिय पुरस्कार नै प्राप्त गर्नुभएका उहाँको आम्दानी राम्रो भएको थियो । एक पटक डढेलोले कफी सखाप भएपछि उहाँले त्यो पेशामा त्यसै विश्राम लिनुभयो । त्यसमाथि अन्य व्यवसायीको समेत आँखा लागेपछि पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ छ । त्यो बेला किसानका कफी बिक्री नहुने र बिक्री भएपनि उधारोमा जान थालेपछि उहाँले काठमाडौँमा कफी उद्योग चलाएर जापान, अष्ट्रेलिया, जर्मनीलगायत देशमा कफी निर्यात गर्नुभयो ।

किसानको कफी कहिल्यै उधारो राख्नुभएन । त्यसैले किसानहरु आकर्षित भए । त्यो देखेर अन्य व्यवसायीले रिस गर्ने गरेको उहाँले स्मरण गर्नुभयो । किसानलाई पैसा नदिएर हैरान बनाएको अवस्थमा आफूले नगद दिँदा किसान धेरै खुसी हुन्थ्यो । “अहिलेको उखु किसानको भन्दा फरक थिएन, त्यो बेला कफी किसानको पीडा तर मैले नगदमा खरिद गर्न थालेपछि अन्य व्यवसायीले पनि बाध्य भएर किसानका कफी नगदमा लिन थाले, अहिले पनि त्यो प्रचलन कायमै छ”, उहाँले विगत सम्झँदै भन्नुभयो । त्यो बेला आफूले कफी किसानको उद्धार गरेको उहाँको जिकिर छ ।

त्यसपछि उहाँले माछा, बङ्गुर र बाख्रापालन (लोकल र जमुनापारी) शुरु गर्नुभएको थियो । बङ्गुर मात्रै डेढ सय थियो । धादिङको थोपल खोला र त्रिशुलीको दोभानमा उहाँले झण्डै २५ रोपनीमा माछापालन पनि गर्नुभयो । त्यही कफीको कमाइमा केही ऋण लिएर उहाँले झण्डै रु ४ करोडको लागतमा तीनवटा व्यवसाय थालेको बताउनुभयो ।

आम्दानी राम्रो हुँदै थियो । मध्यमाञ्चलस्तरीय राष्ट्रपति पुरस्कारसमेत लिन सफल उहाँको फष्टाउँदै गरेको व्यवसायमा नाकाबन्दी र भूकम्प अभिशाप बनेर आइपुग्यो । “त्यो बेला खोर भत्किएर १०० बङ्गुर मरे, बाख्रा पनि मर्यो, पोखरी फाटेर ठूलो क्षति पुग्यो”, उहाँले भन्नुभयो, “झण्डै आधा लागत डुबेर बेहाल नै बनायो ।” त्यसपछि फेरि विस्थापित हुनुभयो । तर हरेस खानुभएन । फेरि केही त गर्नै पर्यो भनेर बोयर पालन थाल्नुभएको छ ।

बाख्रापालन र कोरोना सँगसँगै

विश्वकर्माले जब गत साल फागुन चैत आसपास बाख्रा पालनको तयारी गर्दै हुनुहुन्थ्यो नेपालमा कोरोना भाइरस सङ्क्रमण शुरु भयो । २०७६ साल चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी शुरु भयो । उहाँले त्यसको दुई महिनापछि जेठ २७ गते धादिङ् जिल्लाको वेनिघाट रोराङ् गाउँपालिका—३ खानीगाउँमा बाख्रापालन थाल्नुभयो ।

उहाँले व्यवसाय शुरु गर्दा कोरोना भाइरस सङ्क्रमणको गति बढ्दो थियो । एक मनमा उहाँलाई भुकम्पले झैँ महामारीले फेरि लगानी डुबाउने त होइन भन्ने चिन्ता लागेको थियो । तर स्थानीयस्तरमा घाँसपात लगायो भने दाना नभए पनि पाल्न सकिन्छ भन्ने हिम्मत राख्नुभयो । जस्तोसूकै माहामारी आए पनि बाख्रापालन सफल गर्छु भन्ने आँट बोकेर उहाँले व्यवसाय थाल्नुभएको छ । दाना नपाए पनि घाँसपातले बाख्रा जोगाउने अठोट उहाँको छ । उहाँले भन्नुभयो, “अब लगानी एक करोड पु्ुर्याउँछु, अर्काे वर्षदेखि खर्च थप्नुपर्दैन, बिक्री शुरु हुन्छ, अनि कमाई हुन थाल्छ ।”

खसी, बाख्रा तथा पाठापाठीको व्यवसायिक बिक्री शुरु नभए पनि मलमूत्र बिक्री भने शुरु भएको छ । मासिक रु १२ देखि १५ हजारको बिक्री हुने गरेको विश्वकर्माको भनाइ छ । मलमूत्र गाउँका तरकारी किसानले खोरमै आएर लैजाने गरेका छन् । मल बोराको रु ३०० र पिसाव रु १० प्रतिलिटरमा बिक्री हुँदै आएको छ । बाख्रा पनि बिक्री हुन थालेपछि आम्दानी बढ्ने उहाँले बताउनुभयो ।

कृषकका गुनासा धेरै

समग्र किसानकातर्फबाट उहाँले कृषि क्षेत्रमा धेरै गुनासा र समस्या रहेको बताउनुभयो । किसानले मल बीउ समयमा पाउँदैनन, अनुदानका कार्यक्रम पहुँचवालाको हातमा जाने क्रम रोकिएको छैन । वास्तविक किसानले सरकारी सुविधा पाउनै गाह्रो छ । पछिल्लो समयमा सरकारले उत्पादनमा आधारित अनुदान दिने योजना अघि सार्नु राम्रो शुरुवात भएको बताउँदै विश्वकर्माले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँको भनाइ छ, “अनुदान नगदमा होइन, उत्पादन हेरेर दिनुपर्छ, कुनै किसानले १०० लिटर दुध उत्पादन गर्छ भने लिटरको आधामा अनुदान दिइयोस्, मैले बाख्रापालन गर्छु भने त्यसैको आधारमा अनुदान दिनुपर्छ, दाना प्रयोग गर्ने किसान छ भने उसलाई सोही आधारमा अनुदान दिनुपर्छ, अनि मात्र नेपालको कृषि क्षेत्र फष्टाउँछ।”

सबै कुरा मुलुकको मूलनीति ‘राजनीति’मा गएर अड्किने उहाँको दुखेसो छ । राजनीति अस्थिर हुँदा सबै क्षेत्र प्रभावित हुन पुग्छ । नेपालको राजनीति चल्ने रिमोर्ट बाहिर हुँदा अस्थिरता कायम रहेको उहाँले बताउनुभयो । त्यसले कुनै न कुनै रुपमा कृषिमा पनि असर गरेको छ, उहाँले भन्नुभयो । उखु किसानको पीडा देखाउँदै उहाँले रासायनिक मलको वर्षेनी समस्या देखिएपछि त अर्काे वर्ष हल गर्नुपर्छ नि खै गरेको ? प्रतिप्रश्न गर्नुभयो । कृषिको बजारीकरण, औधोगिकीकरणमा पनि समस्या रहेको उहाँको अनुभव छ । सस्तो भएका कारण नेपालीभन्दा भारतीय उत्पादनले बजार लिइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “एक पटक आफूले गाईपालन शुरु गर्ने योजना बनाएका थिए । केही साथीहरु मिलेर अध्ययन पनि गरियो । त्यो बेला दुध उत्पादन प्रतिलिटर लागत रु २४ थियो । भारतबाट आएको दुधको लागत रु ११ देखि १२ थियो । प्रतिष्पर्धा गर्न नसक्ने ठानेर गाईपालन योजना त्यसै तुहाएर गयो ।” अहिले पनि खसीबोका, अण्डा, कुखुराको अवस्था उही छ विश्वकर्माको भनाइ छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।