केरा खेतीबाटै मनग्य आम्दानी

कञ्चनपुर,बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उहाँ एक्लो किसानमा पर्नुहुन्छ ।

शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गर्नु भएको छ । यसमा उहाँले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गर्नु भएको छ । भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आउनु भएको छ ।

गत वर्ष चार विघा जग्गामा केरा खेती गर्नुभएका रानाले रु २० लाखको केरा बिक्री गर्नु भएको थियो । यसबाट खर्च कटाई उहाँलाई खुद रु छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उहाँले विस्तार गर्नु भएको छ । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उहाँ ढुक्क देखिनु हुन्छ । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उहाँले खेतमा रोप्नु भएको छ ।

शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उहाँले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाउनु भएको छ । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उहाँको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उहाँँले बताउनुभयो । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उहाँको भनाइ छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उहाँले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गर्नु भएको थियो । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उहाँले भन्नुभयो, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।”

गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहँुदा ठगिने गरेका छौँ।”

भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताउनुभयो । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उहाँले भन्नुभयो । केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उहाँको भनाइ छ ।

डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन् । उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उहाँले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी(आंशिक) रुपमा काम गर्ने गरी कामदार नियुक्त गर्नु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।