यसकारण पनि रामप्रसाद गाउंपालिकालाई लप्सी खेती पकेट क्षेत्र घोषणा गरिनु पर्छ
-जीवनप्रसाद राई ।
क्षेत्रफलका आधारमा भोजपुर जिल्लाको छैटौं स्थानीय तह हो रामप्रसाद राई गाउँपालिका । यसको क्षेत्रफल १५८.८३ वर्ग किमी भने जनसङ्ख्या १८,८४८ मानिएको छ । पूर्वमा पौवादुङ्मा र हतुवागढी गाउँपालिका रहेको यस क्षेत्रको पश्चिम सिमानामा खोटाङ जिल्ला रहेको छ । त्यसै गरी उत्तरमा भोजपुर नगरपालिका र टेम्के गाउँपालिका छन् भने दक्षिणमा आमचोक गाउँपालिका रहेको छ । समुद्र सतहबाट ४०० देखि २२०० सय मिटरभित्र पर्ने यो गाउँपालिकामा उष्ण र समशीतोष्ण हावापानी पाइन्छ ।

रामप्रसाद राई गाउँपालिकाभित्र धेरै प्रकारका खेती गर्न सकिए पनि परम्परादेखि नै यस क्षेत्रमा लप्सीको राम्रो उत्पादन हुँदै आएको छ । लप्सी नेपालमा मात्र हुने वनस्पति भए पनि यसको बजार भने विश्वमै फैलिएको छ । तर, सरकारी स्तरबाट लप्सीबारे जुन रुपमा प्रवर्धन हुनुपथ्र्यो, त्यो काम भने भएको छैन । त्यही कारणले पनि रामप्रसाद राई गाउँपालिकाले लप्सी खेतीको पकेट क्षेत्र घोषणा गरी उत्पादनमा व्यापकतासँगै प्रचारप्रसार र प्रवर्धन गर्नुपर्छ ।
परिचय
नेपाली मात्र होइन, अङ्ग्रेजीमा पनि लप्सी (Lapsi) नै भनिने नेपालको मौलिक उत्पादनको वानस्पातिक नाम Choerospondias axillaris हो । यो nacardiaceae परिवारमा पर्छ । लप्सी नेपाली वनजङ्गलमा परापूर्वकालदेखि नै पाइँदै आएको हो । लप्सीलाई नेपालमै मात्र पाइने वनस्पति मानिन्थ्यो तर अहिले विश्व नै भूमण्डलीकृत भइसकेको अवस्थामा अन्य मुलुकमा पनि फैलिन सक्ने सम्भावना उच्च छ । समुद्र सतहदेखि ९०० र १८०० मिटरको उचाइबीच प्रशस्त फल्ने लप्सी नेपालको पूर्वदेखि पश्चिम पहाडसम्म पाइन्छ । हालसम्म काठमाडौं र पर्वत जिल्लामा यसको व्यावसायिक खेती विस्तार भए पनि यसलाई पकेट क्षेत्र घोषणा गरेर उत्पादनमा व्यापकता दिइएको छैन । वातावरण, सम्भाव्यता र सहज उत्पादनका आधारमा भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकालाई लप्सीको पकेट क्षेत्र बनाई उच्च उत्पादन गरी यथेष्ट फाइदा लिन सक्ने सम्भावना प्रशस्तै छ ।
लप्सी नै किन ?
रामप्रसाद राई गाउँपालिकालाई नै लप्सी खेतीको पकेट क्षेत्र किन बनाउने ? भन्ने विषयमा बहस हुन सक्छ । यहाँ अन्य बालीको व्यावसायिक उत्पादनका सम्भावना पनि छन् तर लप्सीकै पकेट क्षेत्र बनाए गाउँपालिका र लप्सी दुवैको उच्च विकास हुन्छ । सिङ्गो राष्ट्रले आय बढाउँछ । यहाँ परम्परादेखि नै लप्सीको उपलब्धता प्रशस्त हुने गरेकाले पनि प्रभावकारी हुनेछ ।
हाल लप्सीको धुलोको माग जापानमा मात्रै बर्सेनि १० हजार टन छ भने अन्य विकसित मुलुकहरुमा समेत यसको माग निकै उच्च छ । तर, त्यो माग कति पनि पूरा गर्न सकिएको छैन । प्रचुर बजारका कारण यसबाट उच्च आम्दानी गर्न सकिने तथा भोजपुर जिल्लाले नै यसबाट धेरै प्रकारका फाइदा लिन सक्ने भएकाले यसलाई प्रमुख प्राथमिकतासाथ कार्य गर्नुपर्ने देखिएको हो ।

लप्सीबाट हुने फाइदा
भिटामिन सी मात्र होइन, अन्य मिनरल्सहरुको पनि खानी नै हो लप्सी । यसै गरी यसमा एमिनो एसिडको मात्रा पनि उच्च छ । जापानमा भएको अध्ययनअनुसार लप्सीमा बाँझोपन हटाउन सक्ने क्षमता छ तर यसबारे थप अनुसन्धान हुँदै रहेकाले ठोकुवा गर्ने बेला आइसकेको छैन । लप्सीका बहुआयामिक फाइदा छन् ।
सर्वप्रथम व्यावसायिक लप्सी खेतीले सिर्जना गर्ने सम्भावनाहरु धेरै छन् भने यसको प्रशोधन उद्योग, यसबाट उत्पादन हुने अन्य वस्तुको बजार आदिबाट समेत प्रशस्तै लाभ लिन सकिन्छ । गाउँपालिकाले यसलाई विशेष प्राथमिकतामा राखी कार्य गरेको खण्डमा यसबाट स्थानीय जनता मात्र होइन, सिङ्गो देश लाभान्वित हुन्छ ।

गाउँपालिकाको भूमिका
सर्वप्रथम गुरू योजना बनाई गाउँपालिकाले लप्सीको पकेट क्षेत्र घोषणा गरेर सोहीबमोजिमका कार्यहरुलाई तीव्रता दिनुपर्छ । उत्पादन वृद्धिसँगै बजार व्यवस्थापन र प्रशोधन उद्योग आदिमा गाउँपालिकाको उच्च भूमिका रहन्छ । किनभने जनताको आय वृद्धि भनेकै गाउँपालिकाको सम्पन्नता हो । यसले देशभरि सकारात्मक भूमिका प्रवाह हुन्छ ।
नर्सरी स्थापना : लप्सीको पकेट क्षेत्र घोषणा हुनेबित्तिकै सर्वप्रथम यसको बिरूवा तयारीलाई प्राथमिकता दिनुपर्छ । लप्सीको बिरूवा बिजु र कमली दुवै प्रकारले तयार गर्न सकिन्छ । गुणस्तरीय बिरूवा प्रशस्त तयार गाउँपालिकाभरि लप्सीरोपणमा व्यापकता दिनुपर्छ । आधुनिक प्रविधि प्रयोग गरी कमली बिरूवालाई सानो रुख र छिटो फल्नेसमेत फलाउन सकिन्छ भने यसका लागि गाउँपालिकाले आफ्नै खालको प्रविधि विकास गरी सिङ्गो देशलाई लप्सीका बिरूवा उपलब्ध गराउन सक्छ ।
साइनबोर्ड राख्ने : लप्सीको पकेट क्षेत्र घोषणा भएपछि लप्सीबारे त्यहीअनुसार प्रचारप्रसार हुनु आवश्यक छ । स्थानीय जनतालाई खेतीमा अभिप्रेरित गर्न यसबाट हुने फाइदाहरुबारे जानकारी दिन ठाउँठाउँमा विभिन्न साइनबोर्डहरु राखिनुपर्छ । किनभने गाउँपालिकाले पकेट क्षेत्र घोषणा गर्दैमा अन्य पूर्वाधार विकास भएन वा स्थानीय जनताले व्यावसायिक खेतीमा साथ नदिएको खण्डमा कार्यक्रम घोषणामै सीमित हुने सम्भावना रहन्छ । त्यसैले गाउँपालिका अनुदान, ऋण, प्राविधिक सहयोग, अभिमुखीकरण कार्यक्रम आदिलाई नियमितता दिनुपर्छ । यसबाट गाउँपालिकावासीलाई लप्सी खेती गर्नका लागि प्रोत्साहन मिल्छ ।
सचेतनामूलक कार्यक्रम : लप्सीले हाम्रो समृद्धिमा महङ्खवपूर्ण योगदान गर्छ । यसको खेती गरेर हुने फाइदाबारे पहिले स्थानीयवासीहरु जानकार हुनै पर्छ । आमजनतालाई जानकार बनाउन गाउँपालिकाले विशेष कार्यक्रम नै बनाएर निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लानुपर्छ । लप्सीका अन्य उत्पादन एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारबारेसमेत जानकारीहरु गराइनुपर्छ । यसलाई मूल्य शृङ्खला परिवर्तनबाट हुने विशेष फाइदाबारेसमेत जनतालाई सचेत गराउनु गाउँपालिकाको मुख्य भूमिका हुनेछ ।
सूचना केन्द्र स्थापना : लप्सीको पकेट क्षेत्र घोषणा गरेपछि गाउँपालिकाले यसबारे सम्पूर्ण जानकारी उपलब्ध हुने गरी ‘लप्सी सूचना केन्द्र’ स्थापना गरिनुपर्छ । सो सूचना केन्द्रमा लप्सीबारे लेखिएका पुस्तक, पुस्तिका, ब्रसर, पोस्टर, वृत्तचित्र लगायतका सूचनामूलक सामग्री व्यवस्था गरिनुपर्छ । यसका साथै सूचना केन्द्र भएको ठाउँमा लप्सी खेतीबारे प्रदर्शनी र नमुना खेती पनि गरिनुपर्छ ।

प्रशोधन केन्द्र स्थापना : नेपाली समाजमा परम्परादेखि नै लप्सी उपयोग हुने गरेको छ । नेपाली संस्कृतिसँग जोडिएको लप्सीका विभिन्न परिकारहरु हाम्रो समाजमा पाइन्छ र खाइन्छ । साधारणतः लप्सीको अचार खाने प्रयोजनमै यस्ता परिकार बन्ने गरेका छन् । केही उद्योगीहरुले यसबाट माडा र क्यान्डी बनाउने काम पनि गरेका छन् । विश्व बजारमा भने लप्सीको धुलोको माग उच्च छ । यसको धुलोबाट विविध परिकार बनाउन सकिन्छ । त्यस्ता परिकार बनाउन सकिने सम्भावनाबारे गाउँवासीलाई सिकाउने थलो तथा सिप विकास केन्द्र स्थापना गरी प्रशोधन केन्द्र खोलेर निरन्तर कार्य गरेमा यसले हामीलाई धेरै फाइदा गर्छ ।
प्रवर्धनात्मक कार्यक्रम : लप्सीको पकेट क्षेत्र बनाई विविध कार्यक्रम सञ्चालनलाई निरन्तरता दिँदै यसको नियमित प्रवर्धन गर्ने मुख्य काम गाउँपालिकाको हो भने यसमा अन्य सङ्घ–संस्था र निकायलाई सहाभागी गराउन पनि सकिन्छ । यसको अधिकतम खपतका लागि त्यस्ता कार्यहरु प्रभावकारी बनाइनुपर्छ । लप्सी आफैमा उच्च महङ्खव बोक्ने वनस्पति भए पनि यसको उचित प्रवर्धन नभएकैले चर्चाको विषय बन्न सकेको छैन ।

गाउँपालिकालाई हुने फाइदा
पकेट क्षेत्र नै बनाई लप्सीको उच्च उत्पादन अभियान चलाउँदा रामप्रसाद राई गाउँपालिकालाई हुने पहिलो फाइदा उच्च आम्दानी नै हो । लप्सी प्रशोधन उद्योग सञ्चालन भएपछि स्थानीय जनताले रोजगारी पाउँछन् । गाउँपालिकाको आय वृद्धि हुन्छ ।
त्यसै गरी नेपालमा मात्र पाइने लप्सीको संरक्षण र प्रवर्धनको श्रेय रामप्रसाद राई गाउँपालिकाले पाउनेछ । लप्सीको पकेट क्षेत्र सञ्चालनमा आएपछि यसबारे अध्ययन–अनुसन्धानको जिज्ञासा बढ्छ । सरोकारवाला निकाय, संस्था र व्यक्तिहरु देश–विदेशबाट अवलोकनमा आउने हुनाले पर्यटकीय आकर्षण बढ्छ । यसबाट स्थानीय समुदायले आय आर्जनका विविध माध्यमहरु फेला पार्नेछन् । लप्सीको प्रवर्धन कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनको जग बस्नेछ ।
(लेखक कृषि पर्यटन अभियन्ता हुनुका साथै कृषि परामर्शदाता समेत हुन । भोजपुर होम्ताङमा जन्मिएका उनी कृषि पर्यटन अभियान लिएर मुलुकका ७७ वटै जिल्ला पुग्ने नेपालको पहिलो नागरिक हुन । -सम्पादक)


