बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै

–ध्रुवसागर शर्मागलेश्वर, ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरु हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।

पहिले अहिलेको जस्तो यातायातका साधनहरु नहुँदा भरियाबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरुको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दुःखसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।

त्यस्तै चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरु पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्ने गर्दथे ।

आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ । यसलाई मानिसले पुण्य कमाउने एक संरचनाका रुपमा पनि लिने गरिन्छ । मानिसहरुले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रुपमा पनि लिने गर्दथे । ती चौतारीमा वर पीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचनाहरु मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।

नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरु बिर्सिंदै जान थालिएको छ । मान्छेहरु हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताउनुभयो ।

उहाँले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पिपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता भएको बताउनुभयो ।

गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरुको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन् । गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।

चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ । गण्डकी प्रदेशसभाले विसंं २०७५ माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यका रुपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत गरिएको छ ।

यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ ।

सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ ।

स्थानीय तहको अभियान

म्याग्दीका स्थानीय तह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्वका चौतारीहरुको संरक्षण, मर्मत र निर्माण कार्यमा जुटेका छन् ।

विकास र सुविधाको नाउमा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि यहाँका केही स्थानीय तहहरुले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् ।

धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वर–पीपल र चौतारी–पोखरीको संरक्षण र मर्मतसम्हारका लागि म्याग्दीका विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ ।

छवटा स्थानीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिक, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रुपमा समेत वर पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

बेनी नगरपालिका–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट खर्च गरेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाँै अगाडिका वर पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उहाँले बताउनुभयो । ग्रामीण वस्तुको महत्व र यसको सुन्दर कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताउनुभयो ।

उहाँका अनुसार एक सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरुको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ ।
गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्हारका लागि दुई लाख बजेट खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त बजेटबाट थानकपोखरी, जरबुटामा वर–पीपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । वरपीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ ।

वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वरपीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रूखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बेनी नगरपालिका– ५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अक्सिजन अभाव र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ वरपीपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो ।

देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासङ्घ बेनी नगरपालिका–५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो ।

यता बेनी नगरपालिका–२ ज्यामरुककोटमा स्थानीयवासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा वर पीपल रोपण र आठवटा पोखरी निर्माण गर्नुभएको छ । “मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ,” ५६ वर्षीय कार्कीले भन्नुभयो ।

पछिल्लो समय सार्वजनिक ठाउँमा वर पीपल रोप्ने र सडकको छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाहरुले प्रसन्नता व्यक्त गरेका छन्।

धार्मिक मान्यताअनुसार पनि चौतारी निर्माण गरेर वर पीपल, बेल, समी र तुलसी रोप्ने कार्य अत्यन्त फलदायी भएको मानिएको छ । चौतारी निर्माण गरेर वर र पीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि रहेको छ । पछिल्ला दुई वर्षयता म्याग्दीमा मन्दिर निर्माण र चौतारी पोखरी संरक्षण अभियानले तीव्रता पाएका स्थानीयवासीहरुको भनाइ रहेको छ ।

यस्ता कार्यहरुले एकातिर धेरैलाई सुविधा पुग्ने र अर्कोतर्फ मानसिक सन्तुष्टि पनि मिल्ने भएकाले व्यक्तिगत वा सामूहिक रुपमा पनि पछिल्ला वर्षहरुमा चौतारी पोखरी निर्माण गर्ने क्रम बढ्दै गएको हो । यसका साथै यस्ता कार्यहरुले सामाजिक सौहार्द्रपूर्ण रुपमा, एकता र आपसी सम्बन्ध सुधारमा समेत सघाउ पु¥याउने स्थानीय पाका नागरिकको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।