‘पहाडसँग अझै डर लाग्छ’
दिलकुमार लिम्बु/ताप्लेजुङ, २ कात्तिक । तीन दिनदेखि अविरल वर्षा भाइरहेको छ । वर्षा सुरु भएदेखि नै मिक्वाखोला गाउँपालिकाका भीमप्रसाद पुरीको घर पछाडीको खोल्सा गड्गठाउन थालेको छ । धुरीमा जब पानी बर्सन्छ त्यसबाट आउँने आवाज र घर पछाडीको खोल्साको आवाजले उनी निदाउनै सक्दैनन् ।
मनसुन बाहिरी सके पनि तीन दिनदेखि दिनरात ताप्लेजुङमा वर्ष भइरहेको छ । अविरल वर्षा हुनासाथै भीमप्रसादलाई २७ जेठ ०७२ को मध्यरात सम्झाइदिन्छ । ६ वर्षअघि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र ३ लिबाङमा आएको पहिरोले ५९ जनाको ज्यान लियो । भीमप्रसादसहित ६६ परिवारलाई जन्मथलो छाड्न बाध्य बनायो । मध्यरातमा भीमप्रसादको घरको दुवैतर्फ पहिरो गयो । घरनजिकै रहेको गाईबाख्रा गोठ सबै बगाउँदा घरमात्रै जोगियो । बोली नआउने भाई रुपनारायण पुरी गोठमै सुतेका थिए । कसोकसो भागेर ज्यान बचाए । ‘घरको दुबैतिर पहिरो आयो, गोठमा सुतेको कान्छो भाईचाहिँ भागेर ज्यान बचाएछ,’ भीमप्रसाद सम्झन्छन्, ‘हामीचाहीँ धन्न बाँच्न सफल भयौँ । पहिरोले दुईवटा भैँसी, ३५ वटा बाख्रा र २१ वटा कुखुरासहित घरबारी सबै बगायो ।’
पहिरो जाँदा भीमप्रसाद साउदी अरबबाट घर फर्किएको दुई वर्ष मात्रै भएको थियो । केही पैसा कमाउ र घरपरिवारलाई खुसी बनाउन साउदी गएका उनी बिरामी भएर फर्कनु परेको थियो । ‘पैसा कमाउँला, छोरा–छोरीलाई राम्रो शिक्षा–दिक्षा दिउँला भनेर परदेश हानिएको बिरामी भएर फर्कनुपर्यो,’ भीमप्रसादले पुराना दिनलाई सम्झिए । उनका पाँच छोरी र दुई छोरा छन् ।
उनलाई अझै पनि पहाडसँग डर लाग्छ । ‘पैसा भए त झापातिरै जग्गा किनेर बसाई जान पाए हुने थियो,’ उनले भने, ‘आकाशमा कालो बादल मडारिन थालेपछि मनमा चिसो पस्छ, पहाडसँग अझै पनि डर लाग्छ ।’
विस्थापित बनेका परिवारहरू अझै पनि पुर्नस्थापित हुन सकेका छैनन् । अहिले उनले फुङलिङ नगरपालिका–३ केनिममा सानो झुपडी बनाएका छन् । पहिरोले खेदाएपछि उनीजस्तै धेरै जना फुङ्लिङ नगरपालिकातर्फ बसाइँ सरे, केही झापा झरे । फुङलिङमा आफ्नो घरजग्गा केही नभए पनि चिनेजानेका आफन्त रहेकाले बनिबुतो गरेर जहान छोराछोरीको हातमुख जोड्न फुङलिङतर्फ बसाइँ सरेका हुन् । परिवारका सदस्य गुमाएकाहरू ६ वर्ष बितिसक्दा पनि शोकमै छन् । पहिरोका कारण घरबार विहिन भएका परिवारलाई सरकारले अझैसम्म पनि नहेर्दा झनै पीडा थपिदिएको छ । विस्थापितहरू सरकारले पुनर्वासको व्यवस्था गरिदिन्छ भन्नेमा ढुक्क थिए । तर पहिरो गएको ६ वर्षसम्म ताप्लेजुङको पहिरोपीडिको पीडा सरकारले सम्बोधन गरेन । मृतकका परिवारले दुई वर्षअघि प्रतिपरिवार एक–एक लाख रुपैयाँ पाए तर विस्थापितले केहि पनि पाएका छैनन् ।
‘मृतकका परिवारले पनि चार वर्षपछि मात्रै एक लाख रुपैयाँ पाए, अरुले त त्यो पनि पाएका छैनौँ,’ पहिरो पिडित अर्जुन तिवारीले भने, ‘पुनस्र्थापनाका लागि सहयोग माग्दै ज्ञापनपत्र र ध्यानार्कषण पत्र नबुझाएको कुनै संस्था वा निकाय छैन होला ।’ पहिरो गएको ६ वर्ष बितिसक्दा पनि सो ठाउँमा कोही पनि फर्किएका छैनन् । अहिले पहिरो थामिए पनि घर बनाएर बस्न कसैले पनि आँट नगरेको तिवारी बताउँछन् ।
गत १९ साउनमा प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले प्राकृतिक विपत्तिमा परी घरबारविहिन भएकाहरूलाई आवास निर्माणको लागि पाँच लाख दिने विषय उठाएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले सार्वजनिक महत्वको विषयमा राखेको वक्तव्यमा भट्टराईले प्रश्न गरेपछि गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई विवरण पठाउन निर्देशन दिएका थिए । संसदमा कुरा उठेपछि आफुहरू अझै पनि आशामा रहेको पीडितहरू बताउँछन् । ‘संसदमा कुरा उठेको रहेछ, अझै पनि आस मरेको छैन,’ पहिरोपीडित तिवारीले भने ।
यता, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विवरण पठाईसकेको बताएका छन् । ‘मन्त्रालयबाट विवरण पठाउन निर्देशन भए बमोजिम खोक्लिङ र लिवाङसहित जिल्लामा भएका प्राकृतिक विपद्का घटनाको विवरण पठाएका छौँ,’ प्रजिअ पाण्डेले भने । उनका अनुसार ०७२ सालमा गएको बाढिपहिरोमा परि विस्थापित परिवारको संख्या ६६ रहेको छ ।


