काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम

काठमाडौँ, २६ मङ्सिर । काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिबार ५.४ डिग्री सेल्सियसमापन गरिएको थियो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ । केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस
–राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर, २६ मङ्सिर । कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ । श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उहाँलाई निकै गाह्रो भएको छ । गत असोज महिनामा स्याउला काटनका लागि रुखमा चढेका लालकाका श्रीमान् ४० वर्षीय लोकबहादुर मल्ल खसेर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । घरको कमाउने श्रीमान्को मृत्यु भएपछि मल्लको परिवार बिचल्लीमा परेको छ । सानै उमेरका तीन छोरा दुई छोरीसहित आफ्नो साँझ बिहानको छाक टार्नका लागि उहाँलाई निकै समस्या परेको छ ।

घरको कमाउने एक्ला श्रीमान्को मृत्युपछि दातृ निकायको सहयोगमा उहाँको दिनचर्या चलेको छ । एक दशकअघि मुगुको धनकोट गाउँपालिका– ९ बाट मल्लको परिवार सहज जीवनयापनको खोजीमा तराई झरेको थियो । “पहाडमा थोरै खेतबारी थियो”, लालकाले भन्नुभयो, “त्यसले वर्षभरी खान पुग्दैनथ्यो । छ दशक कटेका सासू ससुरालाई पहाडको जग्गाको जिम्मा लगाई तराईमा घरबासको व्यवस्था गर्नका लागि झरेका थियौं ।”वन छेउमा झोपडी बनाइ बस्दै आए पनि श्रीमान्ले भारतमा गएर कमाएर ल्याएको पैसाले जीवन चलेको थियो । श्रीमान्को मृत्युले बिचल्लीमा परेका छौं । पहाडमा उमेर ढल्किदै गएका सासू ससुरालाई सम्हाल्ने कोही छैन । यता बालबालिका कसरी पाल्ने भन्ने पिरलो छ ।” नागरिक सुशासन समाज नामक संस्थाले बालबालिकालाई लताकपडा र केही दिनका लागि रासनपानीको व्यवस्था मिलाएको थियो । त्यो सिद्धिएपछि साँझ बिहान के खाउ भन्ने पिरलो भएको उहाँले बताउनुभयो । “रोजगारी पाइए त्यसबाटै बालबालिकाको पालनपोषण गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “रोजगारी पनि पाउन सकिएको छैन । भोकभोकै मर्नुपर्ने अवस्था आइलागेको छ ।”

लालकाको मात्रै होइन, सोही बस्तीका बासमति सिंहको समस्या पनि उस्तै छ । छोरा बेपत्ता भएसँगै बुहारीको मृत्यु भएपछि नातिलाई पाल्नका लागि उहाँलाई सकस भएको छ । घरमा कमाउने कोही नहुँदा बस्तीकै बासिन्दा हारगुहार गरी मागेर जीविका चलाउदै आउनुभएको छ ।बस्ती नजिकै रहेको बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण चन्दले विद्यालयमा पढन आउनेमध्ये दुई दर्जन बढी बालबालिकाका अभिभावक नभएको बताउनुभयो । “बुबाले दोस्रो विवाह गरेर छाडेका, बुबाआमा दुवैको मृत्यु भएका, कमाउन भारतमा गएका अभिभावक नफर्केका असहाय बालबालिकाको सङ्ख्या २० भन्दा बढी छ”, उहाँले भन्नुभयो, “धेरै बालबालिका बाजेबज्यैको भरमा बस्दै आएका छन् । सबैको अवस्था निकै दयनीय छ।”

प्रअ चन्दका अनुसार बस्तीका धेरै परिवारको जीविका आफन्तको सहयोगमा, मजदूरी गरेर, दातृ निकायले दिने राहत सामग्री र ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ताले धानिदै आएको छ । धेरै परिवार जग्गा पाउने आशमा पहाडबाट बसाइँ सरेर सामुदायिक वन छेउको जग्गामा बसेका छन् । वर्षौदेखि बस्दै आएका परिवारको समस्यालाई स्थानीय तहदेखि केन्द्रसम्म कुनै पनि निकायले नबुझिदिँदा ती परिवारलाई जीविका चलाउन निकै सकस परेको छ । पटक–पटक सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बसेको आरोपमा सामुदायिक वनका उपभोक्ता र वन कार्यालयका कर्मचारीले बस्ती हटाएर लैजानका लागि दबाबसमेत दिँदै आएका छन् । “धेरै पटक झोपडि नै भत्काइदिएका थिए”, स्थानीयवासी भागरथी विकले भन्नुभयो, “छाडेर जाउँ भन्दा अरु ठाउँ छैन । त्यसैले झोपडी भत्काए पनि त्यही ठाउँमा बस्न विवश भएका छौं ।” सरकारले खाने बस्ने र रोजगारीको व्यवस्था गरिदिए वन क्षेत्रमा बस्नुपर्ने बाध्यता छैन भन्दै उहाँले कुनै पनि निकायले नहेर्दा वन क्षेत्रको बसाइँलाई नै रोज्न विवश भएको बताउनुभयो । मर्ने बाच्ने ठाउँ नै यही रहेको उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।