जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि
खलङ्गा, १५ माघ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ । विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ ।चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन् । गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।
यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ । पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन् । त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् ।पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ । पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन् । पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ । पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ ।यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ । पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन् । परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ । पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन् । परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ ।
यो पनि पढ्नुहोस…रामपुर, कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ” । ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति रु ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ ।
एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ । डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउनुहुन्छ । मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उहाँले बताउनुभयो । अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताउनुभयो ।
प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउनुहुन्छ तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । “एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ”, अध्यक्ष देवकोटाले भन्नुभयो । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ ।
यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ । करिव ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो ।


