पाख्रिबासमा १ करोड ३२ लाखको नमुना कफी कार्यक्रम (फोटो फिचर सहित)
नारायण कुमार राई/धनकुटा,१६ माघ । पाख्रिवास नगरपालिकामा सञ्चालन गरेको नमुना कफी खेती कार्यक्रमका विषयमा नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रगती विवरण सार्वजनिक गरेको छ ।
खेतीका बिषयमा विभिन्न टिकाटिप्पणी बाहिर आएपछि पालिकाले नमूना कफी खेती भईरहेको वडा नं.८ स्थित मुगा गाउँको आङ्ले डाँडामा लगेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
कफी खेती तथा निर्माणाधिन कफी प्रशोधन केन्द्र तथा कफी खेतीको भ्रमण तथा अबलोकन गराउँदै २०७६ साल देखि हाल सम्म भएको १ करोड ३२ लाख बराबरको प्रगतीका बारेमा जानकारी दिईएको छ ।
कार्यक्रममा कफी पकेट क्षेत्र सम्भाव्यता अध्ययन विउ तथा सामाग्री खरिद,विरुवा उत्पादन,रोपन,नमुना कफी खेतीमा छहारी व्यवस्थापन गरी ३२ लाख मध्ये २२ लाख रुपैया बराबरको काम भईसकेको जानकारी दिएको छ ।
त्यस्तै चालु आ.ब.०७८÷०८९ मा प्रदेश सरकारबाट प्राप्त १ करोड बिशेष अनुदान मध्ये ई–बिडिङ्ग मार्फत् ५७ लाख बराबरको कफी प्रशोधन केन्द्र निर्माणे काम भईरहेको छ ।
बाँकी रकमको ई–बिडिङ्ग मार्फत् प्रशोधन केन्द्र पहुंच मार्ग र हाईटेक नरसरी निर्माणका लागि सम्झौता भई कामहरु शुरु हुने चरनमा रहेको नगर प्रमुख बृषबहादुर राईले जानकारी दिनुभयो ।
उहाँले आफू र कफी खेतीको बिषयमा उठेको बिषयमा प्रष्ट पार्दै जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरेपनि कतैवाट जग्गा प्राप्ति नभएपछि आफूले नै ७ वर्षको लागि ६० रोपनी जग्गा निशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो ।
‘आफ्नो पालामा केहि गरौ भन्ने योजना अनुसार काम शुरु गरेकाले यसलाई सफल बनाउने नैतिक जिम्मेवारी आईपरेकाले अन्तिम समयमा आफैले जमिन दिएको हुं ।–उहाँले भन्नु भयो ।
उहाँले पूर्व प्रकाशित सूचनाको शर्त अनुसार ७ वर्ष पछि भने कुल आम्दानीको १५ प्रतिसत आफूले पाउने गरी जमिन उपलब्ध गराएको बताउनुभयो ।
उहाँले कफी प्रसोधन केन्द्र र हाईटेक नर्सरी निमार्णका लागि करिव ४ रोपनी नि:शुल्क नगरपालिकालाई जग्गा उपलब्ध गराएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रममा उपमेयर देबकला तिम्सिना(पौडेल),नगरका कफी खेती प्राबिधिक अमर राई,कृषि अभियन्ता तथा उक्त क्षेत्रको कफी खेतीका मुख्य योजनाकार जीवनकुमार राईले कफी खेतीका बारेमा जानकारी दिनुभएको थियो ।
उहाँहरुले नगरको सभा र बिभिन्न बैठकबाट पारित गरेर नीति संगत कामहरु भईरहेकाले बाहिर आएको हल्लाहरु निराधार भएको जानकारी दिनुभयो ।








