एमाले अध्यक्ष केपी ओली पोखरामा
पोखरा, २३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।
मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहकाे निर्वाचनकाे तयारीसमेत सुरु गरिसकेकाे छ । साेही कारण ओली देश दाैडाहमा लागेका छन् ।
सञ्चालनमा आएन् ‘सभागृह’
महेन्द्रनगर, २३ फागुन (रासस) :विसं २०७० अघि बनिसक्नुपर्ने सभागृह पाँच वर्ष ढिलोगरी सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन् । कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह (सिटीहल) मा करोडौँ रुपैयाँ खर्च गरिए पनि त्यसलाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो । नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान गरिए पनि उक्त समितिले सभागृह सञ्चालनका लागि मापदण्डसमेत बनाउन सकेको छैन् ।
सभागृह निर्माणको जिम्मेवारी पाएको श्यामसुन्दर र गौरी पार्वती जेभीले २०७५ जेठमा निर्माण सकेको थियो । दश वर्षमा पाँच पटक म्याद थप भएर बनेको सभागृह सुरुआतमा रु छ करोड ८१ लाखमा ठेक्का आह्वान भएको थियो । पछि सभागृहको लागत बढेको हो ।
यहाँको भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नगर विकास समितिले चाँडै मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी थालेको बताउनुभयो । “मापदण्ड बनेपछि समितिले स्वीकृत गरेर सञ्चालनका लागि अग्रसर हुन्छ”, उहाँले भन्नुभयो, “अहिले पालिकास्तरको भूमिसम्बन्धी काम अस्थायी रुपमा सभागृहबाट हुँदैछ ।” अपाङ्मैत्री सभागृहमा एक हजार मान्छे अटाउने क्षमता रहेको छ ।


