धरान उपमहानगरको गठबन्धनबाट उपमेयरको लागी चोत्लुङ बहुमतमा, एकल प्रतिस्पर्धाको लागी किरण राई सर्वसहमत
सुनसरी,बैशाख १२ । आसन्न स्थानीय निर्वाचनको लागी धरान उपमहानगरपालिकाको उपमेयर पदको लागी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट नगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङको बहुमतले नाम सिफारिस गरिएको छ ।
पार्टीको धरान नगर समितिले हिजो बैठकले बहुमतको आधारमा लिएको निर्णय अनुसार नगर ईन्चार्ज चोत्लुङलाई सिफारिस गरेको हो । तर बहुमतले ईन्चार्ज चोत्लुङलाई उम्मेद्वार बनाउने बैठकले निर्णय गरेपनि अन्य आकांक्षी पछि नहटेको र आफ्नो नाम सिफारिस गर्नै पर्ने माँग राखेपछि अन्य आकांक्षीहरुको नाम पनि सिफरिस गरिएको छ । अन्य आकांक्षीहरुमा केन्द्रिय परिषद सदस्य प्रदेश सदस्य, जिल्ला समन्वय सदस्यहरु र नगरका पदाधिकारी तथा सदस्यहरु छन ।
उपमेयरको आकांक्षीहरुमा केन्द्रिय परिषद सदस्य चन्द्र उदास, चन्द्र प्रसाद दत्त, प्रदेश सदस्यमा आइन्द्र विक्रम बेघा, सावित्रा चौलागाई भुमिका, कमला राई, प्रदेश परिषद सदस्य दिल बहादुर रामदाम छन । यस्तै गरेर जिल्ला समन्वय समिति सदस्यहरु उत्तर बहादुर लिम्बु र लक्ष्मी प्रधान छन भने नगर समिति उपाध्यक्ष मनिता राई जाइका, नगर सदस्य चेतना श्रेङ, गंगा बराल, ज्योती लिम्बु, सोमा गिरी र भुपाल चाम्लिङ रहेका छन ।
यसका साथै नगर समितिले नेपाली कांग्रेससँग वडामा भएको गठबन्धन सहमति कांग्रेसले भंग गरेकोले नगरमा पनि एकल प्रतिस्पर्धाको लागी केन्द्रिय समितिलाई माँग गरिएको छ । यदि केन्द्रले एकल प्रतिस्पर्धामा जानको लागी निर्णय गरेको खण्डमा नगर समितिले एकल प्रतिस्पर्धाको लागी मेयर पदका लागी केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण कुमार राई र उप मेयर पदको लागी प्रदेश सदस्य सावित्रा चौलागाई भुमिकालाई सर्वसहमत नाम सिफारिस गरिएको छ ।



