रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

रामपुर (पाल्पा), १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ ।

गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँबाट तानसेन पुग्न चार÷पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुप¥यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी भाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, यहीँ सुविधा पाइयो, धेरै खुसी छु ।”

पन्ध्र वर्षको उमेरमा विवाह गरेकी रानाले पहिलो सन्तान जन्माउनु भएको हो । डा रन्दीप राउतसहितको टोलीले रानाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । गाउँघरमा सेवा सुविधा विस्तार हुँदा नागरिकलाई सेवा लिन सजिलो भएको रानाकी सासुआमा इमिसरा बताउनुहुन्छ । उहाँले चार छोरा र एक छोरीलाई मेलापात, घाँसदाउरा तथा गोठालो गर्दै जन्माउनुभएको थियो । “अब छोरी बुहारी अस्पतालमै सुत्केरी हुनुपर्छ, नत्र ज्यानको जोखिम रहन्छ”, इमिसराले भन्नुभयो ।

“हाम्रो समयमा गाउँमा स्वास्थ्य सुविधा थिएन, कोहीले मेलापात, कोहीले घाँसदाउरा, गोठालो गर्दैमा बच्चा जन्माए”, उहाँले भन्नुभयो । अस्पतालमा २०७७ चैतमा तत्कालीन डा वासुदेव सुवेदीसहितको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । त्यसबेलादेखि नियमितरुपमा डा सुवेदी नेतृत्वको टोलीले गत वर्ष भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूति सेवा प्रवाह गर्दैआएको थियो । डा सुवेदी अन्यत्र सरुवाभएपछि उक्त सेवा बन्द हुन पुग्यो ।

हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतम बताउनुहुन्छ । उहाँका अनुसार गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताउनुहुन्छ । “चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करिब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, उहाँले भन्नुभयो । शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका
हो । प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालले बाहिर जान नपर्ने गरी सेवा दिन चिकित्सकलाई निर्देशन दिएको छ । चिकित्सकले चौबिसै घण्टा खटिएर सेवा दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖