प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले एउटै सडकको तीन ठाउँमा बन्द

खोटाङ, १५ जेठ । प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा एउटै सडकको तीन ठाउँमा बन्द गरिएको छ । वडा कार्यालयबाट प्लास्टिक टनेल वितरण गर्नेक्रममा सुरु भएको विवादका कारण बाहुनीडाँडाको राँगाकाटे–वडा कार्यालय–निङ्लाम–पकन्चेप–झाप्पा–डुम्रे–रुपटार–कुर्ले सडकको फरक–फरक तीन स्थानमा अवरोध हालिएको हो ।

प्लास्टिक टनेल वितरणका क्रममा विभेद गरिएको भन्दै स्थानीय आमा समूहले ११ जेठ साँझ पकन्चेपमा घोचो गाडेर मुढा तेर्स्याएर सडक बन्द गरेपछि सोही सडकको थप दुई स्थानमा अवरोध हालिएको हो ।

आमा समूहले पकन्चेपमा सडकमा छेकाबार हाले लगत्तै क्रमशः तल्लो झाप्पा र पकन्चेपमै सडकमा अवरोध हालिएको छ । पकन्चेपमा नजिक दुरीमा दुई स्थानमा सडकमा छेकाबार लागेको स्थानीयले बताएका छन् ।

बाहुनीडाँडामा कांग्रेसकातर्फबाट रुद्रकुमार राई दोस्रोपल्ट वडाध्यक्षमा निर्वाचित भएका हुन् । पकन्चेपमा सुरुमा माओवादी केन्द्रको उक्साहटमा सडक छेक्ने काम भएको कांग्रेसको दाबी छ । त्यसकै प्रतिक्रिया स्वरूप सोही सडकको अन्य खण्डमा शृङ्खलाबद्ध अवरोध राखिएको कतिपयको विश्लेषण छ ।

पकन्चेपमा आमा समूहले सडक छेकेपछि सोही नजिकै आइतबार कांग्रेसमा आबद्ध स्थानीयले अर्को छेकाबार हालेका छन् । उनीहरूले सडकले मिचेको जग्गाको मुआब्जा दिइनुपर्ने, विद्युत्को पोललाई सार्नुपर्ने, जग्गामा पर्खाल हालिदिनुपर्ने लगायतका माग देखाएर सडकका फरक–फरक ठाउँमा छेकबार हालेका हुन् ।

किसानलाई वितरणका लागि वडा कार्यालयले निर्वाचनअघि २७० थान प्लास्टिक टनेल ल्याएको थियो । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा बाँड्न सुरु गरिएको भन्दै विरोध भएपछि प्लास्टिक टनेल बाँड्ने काम रोकिएको थियो । नागरिकताको फोटोकपी, खाल्डो खनेको तस्बिर र वडाको सिफारिसका आधारमा प्लास्टिक टनेल वितरण गर्ने भनिएको थियो । तर पक्षपातपूर्ण तरिकाले प्लास्टिक टनेल वितरण भएकाले सडक बन्द गरिएको स्थानीय संगीता राईले बताइन् ।

‘खाल्डो नखनेका परिवारलाई पनि प्लास्टिक टनेल दिइयो । कतिपयलाई घरैमा प्लास्टिक टनेल पठाउने काम भयो । सुक्खाग्रस्त ठाउँलाई प्राथमिकता दिइएन,’ संगीताले भनिन्, ‘यही सडक खन्ने क्रममा फिर्ता दिनेगरी उठाइएको पैसा हालसम्म फिर्ता दिइएको छैन । त्यो पैसा फिर्ता पाउनुपर्छ भन्ने पनि हाम्रो माग हो ।’

स्थानीय दयाबहादुर राईले पनि मापदण्ड विपरीत प्लास्टिक टनेल वितरण गर्दा समस्या निम्तिएको बताए । वडाध्यक्ष राईले भने प्लास्टिक टनेल वितरणमा विभेद नगरेको दाबी गरेका छन् । ‘खाल्डो खनेर १५–२० जनाले मात्र प्लास्टिक टनेल लगेका छन्, अरूलाई सिफारिसका आधारमा दिइएको हो । प्रक्रिया पुरा गरेर आउनेलाई रित्तो फर्काउँदैनौँ । नपुगे नगरपालिकाबाट ल्याएर वितरण गर्छौँ,’ वडाध्यक्ष राईले भने, ‘खाल्डो खनिसकेका र सिफारिस भएका अशक्तलाई घरैमा पठाइदिएका हौं । विपक्षी साथीहरूबाट राजनीतिक इस्यू बनाउने काम भएको छ ।’

सडकमा चार ठाउँ अवरोध भइरहँदा समस्या समाधानमा भने हालसम्म कसैको पहलकदमी भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।