कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

दुर्गा देवकोटा/टीकापुर, २१ जेठ (रासस) ः कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । “किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन”, विकले भन्नुभयो, “किताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।”

टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्नुहुन्छ । उहाँले पनि अझै पाठ्यपुस्तक हातमा पाउनुभएको छैन । पाठ्यपुस्तक नभएर उहाँले पनि पढ्न पाउनुभएको छैन । “स्थानीय तह निर्वाचनलगत्तै जेठ महिनाबाट विद्यालयमा पढाइ सुरु भयो । पढाइ सुरु भएको २० दिनसम्म पनि हामीले पाठ्यपुस्तक पाएका छैनौँ”, चौधरीले भन्नुभयो, “यसले त पछिल्ला कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन । अनि हामीलाई घाटा लाग्छ ।”

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा शिक्षक के, कसरी शिक्षण गर्ने भन्ने कुरामा अन्यौलमा छन् । शिक्षकमा ढिलो गरी पाठ्यपुस्तक आए कोर्ष पछाडि धकेलिन्छ कि भन्ने चिन्ता बढेको पशुपतिनाथ आधारभूत विद्यालयका शिक्षिका शान्ति बुढाले बताउनुभयो । “कोर्स पछाडि धकेलिने देखिएको छ । अन्य कक्षामा धमाधम पढाइ भइरहेको छ”, शिक्षक बुढा भन्नुहुन्छ, “समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सबैले पहल गरिदिनुपर्छ । बालबालिकाको समयमै पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्छ ।”

पाठ्यपुस्तक नहुँदा पनि विद्यार्थीलाई व्यस्त राख्न केही न केही क्रियाकलाप गर्न जरुरी छ । हातमा पाठ्यपुस्तक नहँुदा उनीहरुलाई व्यस्त राख्न शिक्षकले पाठ्यक्रमका आधारमा उनीहरुलाई अन्य सन्दर्भ पुस्तक शिक्षण गरिरहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी बताउनुहुन्छ । “विद्यार्थीको पढाइलाई सहयोगी हुने खालका अन्य क्रियाकलापमा व्यस्त राख्ने, अन्य किताब अध्ययनमा सघाउने काम गरिरहेका छौँ’’, प्रधानाध्यापक भण्डारीले भन्नुभयो, “जसले उनीहरुको अध्ययनमा बाधा नपुगोस्, पढाइमा रुचि लागि रहोस् भन्ने उद्देश्य हो ।”

कोर्स नै परिवर्तन भई विविध कारणले पुस्तक छपाइमा ढिलो भएकाले समयमै पुस्तक नपुगेको बताइएको छ । टीकापुर नगरपालिका शिक्षा शाखाले विद्यालयमा पठाइएका स्वअध्ययन सामग्री प्रयोग गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “विद्यालयमा उपलब्ध पाठ्यक्रमअनुसार शिक्षण गर्न सकिन्छ । विद्यालयमा भएका अन्य पुस्तक पढ्न लगाएर पनि विद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ ।”

“हामीले हरेक विद्यालयमा स्वअध्ययन सामग्री उपलब्ध गराएका छौँ । यस्तो समयमा ती सामग्री प्रयोग गरेर विद्यार्थीलाई व्यस्त राखौँ”, शिक्षा अधिकृत अवस्थी भन्नुहुन्छ, “अझै पुस्तक कहिले पुग्छ भन्ने यकिन छैन । त्यसैले अभिभावकले पनि घरमा बालबालिकालाई पुराना किताव भए पनि पढ्न लगाउनुपर्छ ।” पाठ्यपुस्तक उपलब्ध नभए पनि पाठ्यक्रम र अन्य सहयोगी सामग्रीको आधारमा कक्षामा पठनपाठन गर्न अभिभावकको समेत सुझाव छ ।

किताव नभएर बालबालिका आत्तिएकाले पाठ्यक्रमका आधारमा उनीहरुलाई विद्यालयमा रुचि लाग्ने खालका क्रियाकलापमा ब्यस्त राख्नुपर्ने अभिभावक झरना विक बताउनुहुन्छ । “पुस्तक कहिले विद्यालयसम्म आउने हो अझै यकिन छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमा उपलब्ध नभए पनि पाठ्यक्रमका आधारमा विभिन्न क्रियाकलापमा व्यस्त बनाई राख्नुपर्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।