बाँदरमुढे घटनाका पीडितको पीडा बल्झँदो, पीडित भन्छन्–प्रचण्डले आश्वासन मात्रै दिए

कुलप्रसाद काफ्ले/ चितवन, २३ जेठ । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे ब म वि स्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

तत्कालिन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृ त्यु भएको थियो । मृ त्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा विरगती प्राप्त गरेका थिए ।

विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । वि स्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए । १५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले ब म वि स्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृ त्यु भएको थियो । सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

मृ तकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् । घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्ने भन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउँछिन् । घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन् । तर छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन् ।

‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेको छ ।’उनको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन् । उनका तीन छोरी, एक छोरा र श्रीमान छन् । बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन् । उनी कक्षा ११ मा पढ्दै छिन् ।

अर्का दुई छोरी १८ वर्ष नाघिसके । स्नातक तहमा पढ्छन् । १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उनले बताइन् । ‘१८ वर्ष पुग्दा सम्मको लागि सरकारले छोराछोरीलाई पढाई खर्च दिएको थियो । १८ वर्ष नाघेपछि नदिने रहेछ’, उनी भन्छिन्, ‘दुई छोरी १८ वर्षभन्दा बढिका भए । १३ र १४ कक्षामा पढ्दै छन् । उनीहरुलाई दिँदै आएको पढाई खर्च रोकिएको छ ।’

घरमा कमाउने मान्छे कोही नभएको भन्दै उनले ठूलो कक्षामा पढ्न थालेका छोरीहरुको पढाई खर्च जुटाउन समस्या भएको बताइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पीडितलाई सँधै झुटो आश्वासन दिएर भोट माग्ने गरेको उनी बताउँछिन् ।औषधिमा महिनामा दुई देखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उनले बताइन् । छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।

‘घटनाले छोरी मानसिक रुपमा कमजोर छन् । उनले पनि महिनामा पाँच हजार जतिको औषधी खाइरहेकी छन्’, उनले भनिन्, ‘झन् पछि–पछि पीडा बल्झिँदै गएको छ ।’ब म बि स्फोटमा श्रीमति र एक छोरा गुमाएका तत्कालिन कल्याणपुर गाविस–५ का निर्मल सापकोटाको पनि पीडा उस्तै छ । बाँदरमुढे घटनाबारे कसैले सम्झाइ दिँदा अहिले पनि मन भक्कानिएर आउने उनी बताउँछन् ।

‘मैले पाँच वर्षको छोरो र श्रीमती गुमाएँ’, उनी भन्छन्, ‘घटनाबारे कसैले सम्झाइदियो भने अहिले पनि मन भक्कानिन्छ ।’२०७४ को प्रतिनिधि सभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो । त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उनी बताउँछन् ।

‘पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भन्ने थियो । घटनास्थलमा स्मारक बनाउने प्रतिबद्धता जनाएका थिए । प्रचण्डले भनेका कुरा सबै आश्वासनमा मात्रै सीमित भएका छन्’, उनी भन्छन्, ‘बरु नगरपालिकाले दिन्छु भनेको एक लाख रुपैयाँ विभिन्न चरणमा गरेर पीडितलाई दिएको छ ।’

बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउँछन् । उनी आफै पनि बम विस्फोटमा परेर घाइते भएका छन् । काम विशेषले भरतपुर आउँदै गरेका उनी चढेको बस पौने ८ बजे ब म वि स्फोटमा परेको थियो । ब म वि स्फोटको घटनामा परेर घाइते भएका उनको मेरुदण्ड र देव्रे खुट्टा भाँचिएको थियो । खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उनी बताउँछन् । उनीजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ ।

‘धेरै घाइतेहरु उपचार नै गर्न नसकेर रोइरहनुभएको छ’, उनी भन्छन्, ‘कमसेकम राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिएको भए पीडितलाई धेरै राहत हुने थियो ।’ब म वि स्फोटको घटनामा परेका घाइतेहरु एकोहोरिएर टोलाउने र मानसिक रुपमा पनि कमजोर भएको उनी बताउँछन् ।

‘केहि घाइतेले अहिले पनि मानसिक रोगको औषधि खानुभएको छ । हात खुट्टा भाँचिएकाले औषधी मलम गर्ने र अर्थोको चेक गराउने गर्नुभाछ’, उनी भन्छन्, ‘उपचार मंहगो हुँदा पीडितहरु झन् पीडामा हुनुहुन्छ । घाइतेले काम गरेर कमाउन सक्दैन, न राज्यले नै उनीहरुलाई हेरेको छ ।’

घाइते जीवन लिएर बाँचेकामा पीडितमा हिनताबोध हुन थालेको उनी बताउँछन् । ‘प्रचण्डले पीडितहरुलाई राखेर थुप्रै आश्वासन दिनुभयो तर न्यायको बाटोमा कतै लाग्नुभएन । व्यक्तिलाई किन्न सकिन्छ कि भन्ने बाटोमा लाग्नुभयो’, उनी भन्छन्, ‘घटना निरुपण गर्न उहाँ लाग्नुभएन ।’ २०७४ को निर्वाचनमा केहि पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधी उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पुरा नभएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।