आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम
काठमाडौं, २५ जेठ । दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।
चितवनमा नयाँ चरा भेटियो
चितवन, २५ जेठ (रासस) :चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो ।
बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ ।
यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ ।


