तिवारीभन्याङ–अधेँरीघाट सडक स्तरोन्नति तीव्र

भोजपुर, ७ असार । पूर्वबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र बनाइएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडा हुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माण भइरहेको छ ।

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको छ । गाउँपालिकाको ४१ प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत र केन्द्र सरकारको ३४ प्रतिशत लागत साझेदारीमा स्तरोन्नति गरिएको हो । विगतका वर्षहरूबाट नै सडकको चरणबद्धरूपमा काम भइरहेको छ । आगामी वर्षका लागि पनि लागत साझेदारीमा रु तीन करोड ७० लाख बजेट सुनिश्चित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको विनियोजित बजेटको ९६ प्रतिशत बढी काम सकिएको छ । सो आवमा रु तीन करोड ९६ लाख बराबरको काम गरिएको गाउँपालिकाले जनाएको छ ।उहाँले भन्नुभयो, “यो सडकमा हामीले प्राथमिकताका साथ काम गरिरहेका छौँ । विगतका वर्षहरूबाटै यहाँ लगानी भइरहेको छ । यस वर्ष रु तीन करोड ९६ लाख बराबरको काम अन्तिम चरणमा पुगेको छ ।”

आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यस सडकमा यस आवमा १३ किलोमिटर ग्राभेल, ५०० मिटर सोलिङ, कजवे निर्माण, ग्यावियन, मेसिनरी पर्खाललगायतको काम भइरहेको छ । गाउँपालिकाको मुख्य सडकका रूपमा रहेको यो सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यो सडक गाउँपालिकावासीसँगै भोजपुरका नागरिकका लागि सबैभन्दा छोटो मार्ग रहेकाले विस्तारमा प्राथमिकताका साथ काम भइरहेको उहाँको भनाइ छ ।

अध्यक्ष राईले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको अत्यन्तै महत्वपूर्ण सडक हो । यसको विकासमा हामी जुटेका छौँ । विगतका वर्षबाट नै हामीले प्राथमिकता निर्धारण गरेर काम गरिरहेका छौँ । यो मेरो दोस्रो कार्यकाल हो । अबको पाँच वर्षभित्रमा कालोपत्र गर्ने लक्ष्य छ । यो सडक कालोपत्र भएमा भोजपुरका नागरिकलाई यातयातको क्षेत्रमा निकै ठूलो सहयोग पुग्ने देखिन्छ ।” पूर्वबाट धरान, धनकुटासँगै तराईका जिल्लासँगको दूरी २३ किलोमिटर छोटो हुनेछ ।

अधेँरीघाटमा पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको भए पनि केन्द्र सरकारले बोलपत्र आह्वान गर्न ढिला गरेको अध्यक्ष राईको भनाइ छ । “अधेँरीघाटमा पुल बन्नेबित्तिकै यातयातमा धेरै सहजता हुन्छ । पुल निर्माणका लागि हामीले केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरिरहेका छौँ । तत्काल नै पुलको काम सुरु हुने जानकारी आएको हो तर केन्द्र सरकारले बोलपत्र निकाल्न ढिला गरेको अवस्था छ । हामीले पुल निर्माणका लागि पनि पहल गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो ।

काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । तोकिएको काम गत चैत महिनाभित्र सक्ने तयारी भए पनि निर्वाचनका कारण केही ढिला भएको निर्माण कम्पनी राउत कन्ट्रक्शनका कुलबहादुर राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई निर्धारित समयभन्दा अघि चैत महिनामै सक्ने मेरो तयारी थियो । चुनावका कारण केही ढिला भयो, अब अन्तिम चरणमा छ । अबको दुई–चार दिनमा काम सम्पन्न गर्छु ।”

सडकलाई गुणस्तरीय तवरबाट सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जीनियरहरूले नियमित अनुगमन गरिरहेको जनाइएको छ । गाउँपालिको मुख्य सडक विस्तारले तीव्रता पाएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

बजेट निर्माणमा जनताको सुझाव मुख्य आधार

पौवादुङमा गाउँपालिकाले जनताको सुझावका आधारमा बजेट ल्याउने भएको छ । बजेटलाई जनमुखी बनाउन सरोकारवाला पक्षसँग छलफल तीव्र बनाएको हो । उनीहरुको सुझावलाई मुख्य आधार बनाएर बजेट विनियोजन गर्ने गाउँपालिकाको भनाइ छ । जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ सबै वर्ग, क्षेत्र र समुदायको सुझाव सङ्कलन गरेर योजनाहरूको बाँडफाँट गर्ने गाउँपालिकाले जनाएको छ ।

वडा कार्यालयले टोलस्तरमा योजनाको छनोट गरिरहेको भए पनि त्यसलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले यहाँका क्रियाशील राजनीतिक दल, शिक्षक, कर्मचारी, बुद्धिजीवी विभिन्न क्षेत्रका अगुवाहरूसँग चरण–चरणमा छलफल तथा परामर्श लिएर यस वर्षको कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

साथै गाउँपालिकाको बृहत्तर विकासका लागि यहाँका सबै क्षेत्रको गहनरूपमा अध्यायन गरेर नमूनायोग्य काम गर्ने उद्देश्य रहेको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भन्नुभयो, “अहिले हामी कसरी हाम्रो कामलाई अझ जनमुखी बनाउन सकिन्छ भन्ने कोणबाट काम गरिरहेका छौँ । निर्वाचनमा म एउटा पार्टीको उम्मेदवारको रूपमा उभिए पनि जितेर आएपछि म साझा मान्छे हो । म सबै पक्षको भावाना समेटेर लैजाने गरी योजना सञ्चालन गर्ने तयारीमा छु । यहाँको सबै पक्षसँग छलफल गरिसकेका छौँ । उहाँहरूको सल्लाह, सुझाव र उत्प्रेरणाअनुसार योजना अघि बढ्छन् ।”

जनताले आफूलाई दोस्रोपटक पनि सेवा गर्ने अवसर दिएकाले जनताको इच्छाविपरीत कुनै पनि काम नगर्ने अध्यक्ष राईको भनाइ छ । पौवादुङमाको भूगोल र माटो सुहाउँदो योजना सञ्चालन गरेर नमूना गाउँपालिका बनाउने अभिभरा आफ्नो काँधमा रहेको उहाँको भनाइ छ । “पौवादुङमालाई समृद्ध बनाउने अभिभारा जनताले मेरो काधमा सुम्पिनुभएको छ । मैले उहाँहरुको आशालाई पूरा गर्नुछ । उहाँहरूको भावाना कसरी समेट्न सकिन्छ भन्नेमा गाउँपालिकाको पूर्णरूपमा ध्यान गएको छ । यहाँका विज्ञ समूहले दिएको सुझावलाई मुख्य आधार बनाएर बजेट निर्माण गछौँ । यहाँको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक विस्तार, भौतिक निर्माणलगायतका काम तीव्रगतिमा बढिरहेका छन्”, अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाको विकास निर्माणको काम तीव्रगतिमा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । अहिले विषयगत समितिसँग छलफल गरेर योजना तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।