झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल
काठमाडौं, १४ असार । झापा क्षेत्रमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।
मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १४ असार (रासस) :आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ ।
आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।
मङ्गलबार रातिदेखि बुधबार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा/झरी भई केही स्थानमा भारी वर्षा र केही स्थानम भारी वर्षाको सम्भावना रहेको छ । सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावनाका साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।


