आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण

युवराज विष्ट/भोजपुर, ११ साउन (रासस) ः यहाँ पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो ।

खास गरेर आयुर्वेदिक उपचारमा मानिसहरुको कमै ध्यान जाने गरेको भए पनि यहाँ भने उपचारमा स्थानीयवासीको चाप बढेको छ । दैनिक रुपमा सय जनासम्म बिरामी आयुर्वेदिक उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मनोजकुमार मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पछिल्लो समयमा आएर आयुर्वेदिक उपचारमा स्थानीयवासीको चाप बढेको छ, आयुर्वेदिक औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो, हामीले यहाँबाट प्रदान गरिने सेवाको विषयमा नागरिकस्तरसम्म सचेतना पु¥याएका छौँ, यसले पनि मानिसहरुमा यो पद्धतिको उपचारमा बढी ध्यान गएको हाम्रो बुझाइ छ ।”

आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा आठ हजार ४१५ बिरामीले सेवा लिएका छन् । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी रहेको कार्यालयले जनाएको छ ।

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको निमित्त प्रमुख मण्डलको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ, चिकित्सकको अभावले कतिपय सेवा सञ्चालन गर्न कठिनाइ छ ।”

उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीका बेलाबाट स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको मण्डलले बताउनुभयो । स्थानीयस्तरमै पाइने विभिन्न जडीबुटीबाट औषधि तयार गरिने भएकाले यी औषधि स्वास्थ्यका लागि लाभदायक हुने उहाँको भनाइ छ ।

खास गरेर एन्टिवाइटिक औषधि सेवन गरेर बिरामीले रोगलाई निको बनाउन चाहने भए पनि भोजपुरमा भने आयुर्वेदिक उपचार तिर बिरामीले ध्यान दिन थालेका छन् । विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ । लामो समयसम्म ठूल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा पनि रोग निको नभएको जनाउँदै उहाँले बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका बताउनुभयो ।

स्थानीय केशरबहादुर श्रेष्ठले ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खासमा हामीले यो उपचार पद्धतिका बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ, मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो, उपचार गराउन विभिन्न सहरका ठूला अस्पतालमा गए तर उहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ ।”

केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा रहेका छन् । बाथरोग, हाडजोर्नी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरैजसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताउनुभयो ।

शेर्पाले भन्नुभयो, “मेरो ग्याष्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउन गए, त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमति रुपमा यहाँ आएर उपचार गराइरहेकी छु, अहिले सुधार भइरहेको छ, पहिला खानामा रुचि हुँदैन थियो, खानापानी रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ ।”

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बाथरोग, जण्डिस, ढाड दुख्ने, पायल्स, फिस्टुला, ग्याष्ट्रिक लगायतबाट ग्रसित भएका बिरामी धेरै आउने गरेका छन्, हामी विभिन्न उपचार पद्धति तथा औषधिको प्रयोग गरेर उहाँहरुलाई निको पारेर पठाउने गरेका छौँ ।”

बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारको चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ । बिरामीहरुको आकर्षण बढे पनि आफ्नै भवन नहुँदा तथा चिकित्सहरुको कमीले सेवा प्रवाहमा भने केही समस्या हुने गरेको कार्यालयका वैद्य मण्डलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नै कार्यालय भवन तथा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या छ, दैनिक बिरामीको चाप बढेको छ, भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपर्ने भएकाले कोठा साँगुरा हुँदा बिरामीलाई सेवा दिन कठिनाइ छ, डाक्टर नहुँदा हामी दुईजना वैद्यले बिरामीको सेवा गरिरहेका छौँ ।”

कार्यालयमा दरबन्दीअनुसारको डाक्टरको व्यवस्था गर्नुपर्ने स्थानीयवासीको माग छ । आयुर्वेदिक उपचारको फाइदाका बारेमा जनस्तरसम्म जनचेतना फैलाउन सके अझ धेरै बिरामीले यसबाट लाभ लिन सक्ने स्थानीय जानकारहरुको भनाइ छ ।

भोजपुरमा जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएकाले विभिन्न जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइन्छन् । सर्वसाधारण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन् । कार्यालयबाट ओपिडी (बहिरङ) सेवा, पूर्वकर्म पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक सेवा, ल्याब सेवा, औषधि वितरण, स्तनपायी आमाका लागि (सुत्केरी आमा छ महिनासम्म) दुग्धवर्धक औषधि वितरणलगायत सेवा प्रवाह भइरहेको छ ।

विसं २०५८ सालदेखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा रहेका छन् ।

त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।