आधुनिक भेडेटारका पिता बिष्णुराज श्रेष्ठ
जीवनप्रसाद राई,धनकुटा । अहिले धनकुटा जिल्लाको भेडेटार नेपालको शिर्ष सय घुम्ने ठाँउहरु मध्येको एक हो । कुनै ठाँउहरु प्राकृतिक रुपमा आफै निर्माण भएका हुन्छन । तर धेरै ठाँउहरु मानवले निर्माण गरिनुपर्छ । २०४८–५० साल ताक भेडेटार (धरान बसन्तपुर) चल्ने गाडीहरुको खाजाका लागि बिसाउनी थियो । सानातिना झुप्रो पसलहरुले दिने सेवा थुप्पा, चाउमिन, चिया, मःम र खाना थियो । भेडेटारले त्यो भन्दा फराकिलो हिसाबमा पर्यटन ब्यवसाय संचालन गर्ने परिकल्पना गरेको थिएन । २०५० सालपछि भेडेटारले बिस्तारै आफ्नो रुप परिवर्तन गर्दै लग्यो । अहिले भेडेटार मात्रै होईन यसको नजिकैको थुम्की, नाम्जी लगायतका ठाँउहरु समेत आधुनिकताले भरिएको छ ।
पर्यटन गन्तब्यको रुपमा निकै बिकास हुदै गएको नाम्जीमा मगरहरुले संचालन गरिरहेको होम स्टे, एउटा गन्तब्य हो । यसैगरि थुम्की अर्को गन्तब्य हो । यही कारण भेडेटार आसपासको ठाँउहरुको, प्रत्येक बस्तुहरुको मुल्य आएको छ । भेडेटारकै अर्को देनको रुपमा बिकसित भएको नयाँ गन्तब्य हो नमस्ते झरना । यो झरनामा दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने गर्दछन । भेडेटारको ५ किलोमिटर वरपर पर्यटकहरुको चहलपहल अधिक छ । सुबिधा सम्पन्न खालका होटलहरु खुल्ने व्रmम जारी छ । २०५० देखि २०७९ साल सम्म अर्थात २९ बर्षको अन्तरालमा भेडेटार आकाश जमिन जतिकै बिस्तारित र बिकसित भएको छ । आजको भेडेटारको रुप यतिकै परिवर्तन भएको होईन त्यसलाई आधुनिक रुपमा लानका लागि पिताको हैसियातमा काम गरे बिष्णुराज श्रेष्ठले ।
त्यो एकदिनको घाम सयौ दिनको पानी, लौ सुनौ अब बिष्णुराजको कहानी:
हामी नेपालीले अरुको सफलताको चमक देख्छौ, उसले फाईदा लिएको देख्छौ उसले खाएको, गाडीमा हिडेको, राम्रो भवनमा बसेको, देश बिदेश घुमेको, सफासुग्घर भएर हिडेको आदिमा डाह, ईष्र्य गर्ने गर्छौ । ईष्य, डाह र लोभ गर्नैपर्छ तर त्यो वा त्यस्तै सफलता प्राप्त गर्नका खातिर । तर त्यो मानिसले बिगतमा के कस्तो मेहनेत गरेको थियो संघर्ष कसरी गरेको थियो । कति हण्डर पाएको थियो । कति अपमान सहेको थियो, कति क्रृणमा डुबेको थियो, नजानेर कसरी दुख पाएका थिए, कति पिडा र छटपटी भएको थियो । आदि बिषयमा गहिरो अध्ययन गरेर मात्रै आरिस पनि गरौ । बाहिरी सतहमा देखिएको बिषय र वर्तमान मात्रैले त्यो सफलता मापन गर्दैन । भनिन्छ सफलता भनेको ९९ प्रतिशत असफलताको परिणाम १ प्रतिशत मात्रै हो ।
यस्तै भेडेटार निर्माणका आधुनिक पिता श्री बिष्णुराज श्रेष्ठले अरुण भ्याली होटलको ब्राण्ड निर्माण गर्नका खातिर त्यो भन्दा अघि के के गरेको थियो र होटल स्थापनापछि के कस्ता समस्याको सामना गरेर यो अवस्थामा आईपुगेको हो । बिष्णुराज श्रेष्ठ २०२२ असार २ गते आमा रत्न कुमारी श्रेष्ठ तथा बुवा गजराज श्रेष्ठबाट धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ तल्लोकोप्चेमा जन्मिएका ब्यक्ति हुन । उनी शान्ति मादेन श्रेष्ठ संग बैबाहिक बन्धनमा बाँधिएको र उनीहरुका १ छोरा र १ छोरीका अभिभावक समेत रहेका उनै बिष्णुराजको बारेमा यहाँ सानो चर्चा गरौ ।
सर्बप्रथम उनले काठमाण्डौको ५ तारे अन्नपुर्ण होटलमा २ बर्षको होटल प्रवेश अनुभव लिने अवसर प्राप्त गरेका थिए । यो उनको आफ्नै भिनाजु थुप्चेन छिरिङ अन्नपुर्ण होटलको निर्देशक रहदा पाएका थिए । होटललाईनमा उनको यो नै सबैभन्दा ठुलो आधार बन्यो । यसबाट बिष्णुराजले धेरै कुराहरु सिक्ने र अध्ययन गर्ने अवसर प्राप्त गरे । यो २०४४ देखि ४६ साल सम्म चल्यो । यसै अनुभवबाट बिष्णुराजले न्युरोड काठमाण्डौ पिपलबोटमा फास्टफुडको स्टल आफ्नै लगानीमा स्थापना गरे । यो संचालनमै रहेको बेला २०४९ सालमा हङकङमा होटल सम्बन्धी तालिमकै लागि ९ महिना बस्ने अवसर प्राप्त गरे । फर्केर नेपालकै होटल ब्यवसायमा रहेकै बेला फेरी होटल हिलटन सिंगापुरमा १५ महिना होटल सम्बन्धी कोर्ष तथा तालिम गर्ने अवसर प्राप्त गरे । उनको जीवनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको होटल सम्बन्धी अनुभव तथा अवसरहरु प्राप्त गर्ने व्रmममा निरन्तर रुपमा चले ।
भारत संसार भित्रको अर्को संसार हो । भारतीय खानाहरुको हाल संसारभर माग भईरहेको परिस्थितिमा उनले अहमदाबादमा दक्षिण भारतीय खानेकुराहरुको लागि तालिम गर्ने र काम गर्ने अवसर प्राप्त गरे । उनको यो निकै महत्वपुर्ण छलाङ पनि थियो । होटल ब्यवसाय तथा बिदेशीहरुको रहनसहन बुझ्ने व्रmममै सन २०१७ मा एक महिनाका लागि अमेरिकाको सिकागो, वासिङटन डिसी, फ्लोरिडा, बफेलो लगायतका ठाँउ र राज्यहरुमा अध्ययन गर्ने अवसर प्राप्त गरे यसै समयमा नै उनले क्यानाडाको होटल ब्यवसाय समेत अध्ययन गर्ने अवसर प्राप्त गरे । यी दुवै अवसर लाईन्स क्लबबाट पाएका थिए । उनको यी तालिम तथा अवसरहरु निकै लामो संघर्ष तथा मेहनतले प्राप्त गरेका थिए ।
अरुण भ्याली होटलको शुरुवात:
अधिक बिकसित मुलुकहरुमा पिएच डी गरिसकेका र बिशिष्टिकरण गरिसकेका राम्रा शिक्षकहरुले सानो कक्षा अर्थात बालबालिकालाई पढाउँछन । स्मरण रहोस डा सन्दुक रुईतलाई सानोमा पढाउने प्रिन्सीपल पनि त्यस्तै बिद्धान थिए । ठीक यस्तै बिष्णुराज श्रेष्ठले संसारभरको अनुभवहरु संगालेर धनकुटाको भेडेटारमा होटल स्थापना गर्छु भन्दा उनका धेरै जसो आफन्तले यो राम्रो भएन सम्म भनेका थिए । तर उनी संग यति धेरै आत्मविश्वास थियो कि भेडेटारलाई नेपालको उत्कृष्ट गन्तब्य बनाउदै यहाँ होटल ब्यवसाय एकदमै राम्रो हुने । संसारभरका ठुला देश, ठुला ठाँउ, ठुला शहर अनि नेपालकै पनि ठुला शहरहरुको अनुभव उनलाई थियो । यस्ता अनुभव नेपालको जुनसुकै दुर्गम ठाँउमा होटल चलाउन समेत योगदान गर्ने अनुभव हो ।
यसैले मैले भन्ने गरेको छु बिष्णुराज श्रेष्ठ पिएचडी गरेर मन्टेश्वरीमा पढाउने टिचर हुन । उनका भिनाजुले भने भेडेटारमा होटल चलाउन राम्रो शहरहरुको नजिकै र मुख्यतः पुर्वकै संमृद्ध शहर धरानको नजिकै भएकोले यहाँ होटल स्थापना निकै राम्रो हुने कुरा सुझाएका थिए । यसै प्रेरणाबाट नै उनले अरुण भ्याली होटलको शुरुवात गरे ।
होटल शुरु गर्ने दिन जति नजिकिदै थियो नाम के जुराउने भन्ने बिषयमा समस्या भयो । होटल कंचनजंघा, होटल सगरमाथा, होटल मकालु आदि के नाम राख्ने राख्ने ? बडो फसद् । तर यो मामिलामा अरुणभ्याली नाम राख्नु उपयुक्त हुने बुवाले सुझाएका थिए । त्यो बेला अरुण तेस्रो जलबिधुत संचालन हुन नसकी फिर्ता गएकोले समेत अरुणभ्याली नामाकरण गर्न निकै उपयुक्त हुने बताएका थिए । बुवाकै मार्गदर्शन अनुसार होटल अरुण भ्याली नामाकरण गरि २०५० सालमा तत्कालिन मन्त्री रहेका श्री बल बहादुर राई बाट उद्घाटन गराएका थिए ।
बिष्णुराज श्रेष्ठले भेडेटारमा अरुणभ्याली होटल स्थापना गर्दा सबैभन्दा राम्रो ब्यवस्थापनमा संचालित होटल उनको मात्रै थियो । धरानेहरुलाई नै टार्गेट बनाएर स्थापना गरिएको होटलमा राम्रा नराम्रा पाहुनाहरु आउने नै भयो । तर पछिल्लो समयमा उनको होटलमा राम्रो भन्दा नराम्रा पाहुनाहरु धेरै हुन थाल्यो । होटलमा एकदमै समस्या समेत सिर्जना भयो । एकपटक होटल ब्यवसायीहरुको बैठक बसेको बेला तत्कालिन धनकुटा जिल्लाका प्रहरी नायब उपरिक्षक उपेन्द्रकान्त अर्याल पनि सहभागी भएका थिए । बिष्णुराज श्रेष्ठले होटल ब्यवसायीहरुको तर्फबाट समस्या सुनाएका थिए । समस्या सुनेर बसेका डिएसपी उपेन्द्रकान्त अर्यालले तुरुन्तै कारबाही गरे । यसपछि भने भेडेटारमा कहिल्यै त्यो खाले समस्या उत्पन्न भएन ।
तर समस्या नभएको कुनै ठाँउ र प्रहर हुदैन । भेडेटार आफैमा दिउँसै कुटाकुट र मारामार हुने ठाँउको रुपमा चित्रण गरिएको ठाँउ हो । कोदोको ठर्रा खाने कुटाकुट गर्ने । त्यसप्रकारका समस्याहरुलाई छिचोल्दै अरु ब्यवसायीहरु समेत थप्दै जाने सवालमा बिष्णुराज सफल भए । हाल भेडेटारमा सयौको संख्यामा स्तरीय होटलहरु खुलिसकेका छन । यो व्रmम तिव्रगतिमा अघि बढिरहेको छ । भेडेटार अब ठुला खाले सरकारी तथा गैर सरकारी स्तरबाट संचालन हुने सेमिनारहरु समेत संचालन गर्न सक्ने हैसियतमा पुगिसकेको छ । यो र यस्ता अवसरको लागि भेडेटारले आफुलाई मानसिक रुपमा तयारी समेत गरिरहेको छ ।
परिवारै होटल ब्यवसायमा :
बिष्णुराज श्रेष्ठको परिवार संख्या जम्मा चारजना मात्रै हो । अन्तरजातिय बिबाह गरेका बिष्णुराज श्रेष्ठले भेडेटारको होटल ब्यवसायीहरुको संगठन निर्माण गर्ने श्रेय पनि उनैलाई जान्छ । उनी २०६८–२०७२ भेडेटार होटल एसोसियसनको संस्थापक अध्यक्ष समेत हुन । उनले शुरु गरेको त्यो होटल एसोसिएसनमा उनका श्रीमति शान्ति मादेन श्रेष्ठ हाल कार्यवाहक अध्यक्षको रुपमा समेत रहेका छन । उनीहरुका छोरा वनिथ श्रेष्ठ अष्ट्रेलियामा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययन गरिरहेका छन भने उनीहरुका छोरी स्नेह श्रेष्ठ भेडेटारमै नेपालय बुटिक होटल खोलेर संचालन गरिरहेका छन । उनीहरुको परिवार नशाको रुपमा नै होटल ब्यवसाय रहेको यसबाट प्रष्ट देखाउँछ ।
होटल नपढेका होटलका बिज्ञ:
आज बिष्णुराज श्रेष्ठले नेपालमा अवहेलना गरिरहेका कृषि बस्तुहरु जस्तै सिस्नो, गुन्द्रुक, कोदोको ढिडो लगायतका थुप्रै बस्तुहरु उनको मेनुमा राखेका छन । जहाँ नेपालका भिआईपीहरु आएर त्यही बस्तु निकै महँगो मुल्यमा तिरेर खाने गरेका छन । उनीहरुको होटलमा नेपाली फलफुलहरु समेत पस्काउने फरक शैली र पन रहेको छ । त्यही बिषयले नै धेरैलाई आकर्षण गर्ने गरेको छ । भनिन्छ मानिसलाई पेटमा होईन आँखामा भोक लाग्दछ । खानेकुराहरु सजाएर खाँउ खाँउ लाग्ने बनाउने खाद्य रहनरहनको एउटा अवधारणा हो । अरुण भ्याली होटलले नेपाली कृषि बस्तुहरुको पस्काउने शैलीलाई फरकपन ल्याएर परिवर्तन गरिदिएको छ । यही भएर नै उनको होटल फरक शैली र फरकपनले राम्रो संगले चलेको छ ।
उनको होटल ब्यवसाय गर्न चाहने मानिसहरुलाई यो सुझाव दिन चाहन्छन कि धैर्यता सबैभन्दा महत्वपुर्ण बिषय हो । होटल खोल्ने बित्तिकै लाखौ करोडौ कमाईन्दैन । कमाईन्छ, तर त्यसका लागि धैर्यता चाहिन्छ । धैर्यता मात्रै होईन त्यसका लागि पोलेसी –नीति) पनि राम्रो हुनुपर्छ, यसैगरि एकदमै राम्रो ब्यवस्थापन हुनुपर्दछ । हस्पिटालिटी एकदमै राम्रो हुनुपर्दछ, आईडियाहरु सधै फुराई रहनुपर्दछ । भद्र भलादमी पनि हुनुपर्दछ । ब्यवहार एकदमै राम्रो संगले गरिनुपर्दछ । हाईजेनिक सफा सुग्धरमा ज्यादै ध्यान दिनुपर्दछ । विलपावर अर्थात सबैभन्दा ठुलो बिषय ईच्छाशक्ति नै आजको संसारमा असम्भवलाई समेत संभव बनाउने बिषय हो त्यो हुनुपर्दछ । यी बिषयहरु जस्ले राम्रो संगले बुझ्दछ र पालना गर्दछ । उनीहरुले होटल ब्यवसायमा ज्यादै राम्रो प्रगति गर्दछ ।
लगानी र रोजगारी सिर्जना:
होटल ब्यवसाय संचालन गर्नुपुर्व र होटल संचालन गरिसके पछि होटल सेरोफेरोमा उनको लगानी ३ अर्ब भन्दा बढी भईसकेको छ । उनले नेपालमा प्रायले भोगेको समस्या तर होटल ब्यवसायीहरुले प्रत्यक्ष रुपमा असर पारेको माओवादी आन्दोलन, २०७२ को महा विनासकारी भुकम्प, भारतीय नाकाबन्दी लगायत पछिल्लो समयमा भएको महामारी बिश्वब्यापी कोरोना भाईरसले समेत ब्यवसायमा ठुलो असर गरेको हो । यी समस्याहरुका बाबजुद पनि उनीहरु यो ब्यवसायमा निरन्तर रुपमा लागिरहेका छन । हाल बिष्णुराज श्रेष्ठको होटल ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सयौ जनाले रोजगारी प्राप्त गरिरहेका छन । बार्षिक रुपमा करोडौ रुपियाँ नेपाल सरकारलाई राजश्व बुझाई रहेका छन । अब उनको एकमात्र ध्येय धनकुटालाई पर्यटनबाटै भरिभराउ बनाउने रहर हो ।




