मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

नारायण ढुङ्गाना/काठमाडौँ, १० भदौ (रासस) ः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।

गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।

गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

“उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।” प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ ।

प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ ।

उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ ।

केन्द्रीय सुरक्षा योजना बन्दै

गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।