खोटाङका सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउन अभियान सुरु

खोटाङ, १८ भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान सुरु गरेको छ । कच्ची अवस्थामा सञ्चालित विद्यालयमा पठनपाठनका गर्नुपर्ने भएकाले छात्र÷छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाले चालु वर्ष २०७८÷७९ मा रु ९० लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै (४८ वटा) सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने योजना नवनिर्वाचित जनप्रतिनिधिले गाउँसभाबाट पारित गरेको छ । लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान सुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन् ।

ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई विस्थापित गर्दै भुँइमा ढलान तथा भित्तामा प्लाष्टर गर्ने योजना बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताउनभयो । “धुलोरहित विद्यालय बनाउन गाउँपालिकाले हरेक विद्यालयमा प्राविधिक टोली खटाएको छ । प्राविधिक टोलीले विद्यालयको भौतिक अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन दिन्छ”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको प्रतिवेदनको आधारमा गाँउपालिकाले बजेट व्यवस्थापन गरेर सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।”

सात वडा रहेको गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयको भवन अव्यवस्थित तथा पुरानो भएर जीर्ण बनेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा धुलो र फोहरका कारण विद्यार्थी पटक–पटक समस्यामा पर्दै आएका शिक्षकले बताउने गरेका छन् ।

कक्षाकोठामा धुलो र फोहर हुँदा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने र विद्यार्थीलाई पढ्ने वातावरणसमेत नहुने भएकाले गाउँपालिकाले सबै विद्यालयका कक्षाकोठा सुधार गर्न थालेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभयो । “धुलाम्मे विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान सुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाको यो अभियानले शैक्षिक सुधारमा केही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित ४८ सामुदायिक विद्यालयमा चार हजार सात सय ५२ विद्यार्थी अध्ययनरत रहेका छन् । चौधवटा मावि, पाँचवटा आधारभूत (निमावि) र २९ वटा पूर्व प्राथमिक (कक्षा–५ भन्दामुनि)का विद्यालय सञ्चालनमा रहेका छन् ।

जिल्लाका अन्य स्थानीय तहलेसमेत आ–आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने अभियान सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा धुलोरहित बनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि एेंसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई धुलोरहित बनाएको थियो । ऐसेलुखर्कमा ४३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सत्ताइस प्रावि, आठवटा आधारभूतर आठ माध्यमिक विद्यालय सञ्चालनमा रहेको उक्त गाउँपालिकाका माध्यमिक तहमा इ–लाइब्रेरीसमेत जडान गरेर सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले आठवटा माविमा तीन हजार दुई सय पुस्तक भएको एक÷एक वटा इ–लाइब्रेरी स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयको पठनपाठन कच्ची भवनको धुलाम्मे कक्षकोठामा सञ्चालन हुँदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ मावि, ६७ निमावि र तीन सय ३० आधारभूत गरी चार सय ९३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।