श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
झापा, भाद्र २० । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो ।
श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण
काठमाडौँ, २० भदौ (रासस) ःभारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो ।


