ढिलासुस्तीविरुद्ध जागे स्थानीय, पुगे स्थानीय सरकार झक्झक्याउन

खोटाङ, २० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको काम तत्काल सुचारु गराउन माग गरेका छन् । हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न/गराउन माग गरेका हुन् ।

२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डिबिएसटी कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले आगामी २६ भदौभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका छन् । स्थानीय सरकार, प्रशासन लगायतका निकायले आँखा चिम्लिरहने हो भने सडक कालोपत्रेको काम पूरा हुने अवस्था नदेखिएको हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिका अध्यक्ष किसनकुमार राईले बताए ।

सडक कालोपत्रेको काम अलपत्र छाड्दा दिक्तेलबजारको व्यापार व्यवसायमा असर परेको, कालिका भगवती दर्शन गर्न आवजजावत गर्ने दर्शनार्थीलाई कठिनाई भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘विगत एक वर्षभित्र ठेकेदारले मेसिन तथा औजारहरु फिर्ता लगिसकेको छ । अहिले क्रसर मात्र बाँकी छ । क्रसरबाट उत्पादित गिटी अन्य बिक्री वितरण गरिरहेको छ,’ अध्यक्ष राईले भने, ‘जनतालाई बारम्बार ढाँटछल गर्ने काम भएको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा जनस्वास्थ्यमा खेलवाड भएको महसुस गरेका छौँ ।’

शुक्रबार हाटडाँडा क्षेत्रका १८१ जनाको उपस्थितिमा भएको बैठकको निर्णयअनुसार स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँ, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईलाई ज्ञापनपत्र बुझाउँदै काम तत्काल चालु गराउन ध्यानाकर्षण गराएका हुन् । तोकिएको समयभित्र कालोपत्रेको काम सुचारु नभए दोश्रो चरणको आन्दोलन सुरु गरिने स्थानीय अगुवा मनोज राईले बताए ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । तर, हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगति भएको छ । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट ९ जेठ २०७८ देखि आरसीसी ढलान सुरु गरिएको थियो । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ ।

निर्माण कम्पनीले ७ चैत २०७६ सम्मको म्याद गुजारेपछि २९ वैसाख २०७८ सम्मका लागि प्रथम पटक म्याद थप गरिएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, चौंलागाईले गरेका प्रतिवद्धता अनुसार काममा प्रगति भएनन् । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले १ मंसिर २०७५ मा आयोजना शिलान्यास गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले सो आयोजना हेर्दैआएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पुर्वाधार बिभाग (डोली)लाई हस्तान्तरण गरेपछि काममा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।