प्रविधिले ओझेलमा हुलाक सेवा

दोधारा चाँदनी, २१ भदौ । गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ५६ वर्षीय परमानन्द भट्टले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो । विसं २०६० तिर भारतमा रहेका छोराको चिठ्ठी पाएको उहाँ सम्झिनुहुन्छ । “विसं २०५४ को अन्त्यतिर छोरा रोजगारीका लागि भारत गयो, यसको करिब डेढ वर्षपछि मुम्बै पुगेको चिठ्ठी आयो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “त्यो बेलाको कुरा गर्दा त अहिले कहानीजस्तो लाग्छ ।” उहाँले त्यो बेला हुलाकी गाउँमा देखिँदा कसको के खबर आयो भनेर सोध्ने गरिन्थ्यो । “छोरा पुगेको खबर डेढ वर्षपछि आयो, रोजगारी लागेको खबर त चार वर्षपछि आएको हो”, उहाँले भन्नुभयो, “अहिले त मिनेट–मिनेटमा कुरा हुन्छ, जमाना कहाँ पुगिसक्यो ।”

तत्कालीन समयमा चिठ्ठी आएपछि गाउँले सबै भेला भएर जान्ने एक जनाले बाचन गर्ने र अरुले सुन्ने गर्थे । “अहिले त सबै पढेलेखेका छन्, त्यो बेला चिठ्ठी पढ्ने मान्छे पनि खोज्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “देश–विदेशमा गएका छोरा र आफन्तको खबर आउने माध्यम भनेकै चिठ्ठीपत्र थियो ।”

पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणले मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनलाई नै परिवर्तन गरिदिएको छ । अन्य मुलुकको तुलनामा नेपालमा सुस्त गतिले भए पनि सूचना प्रविधिले फड्को मारेको भीमदत्त नगरपालिका–१५ का विष्णुदत्त जोशीले बताउनुभयो ।

“अहिलेको इन्टरनेट, इमेलको युग छ, यसले चिठ्ठीपत्रको सञ्चारलाई ओझेलमा पारेको छ”, उहाँले भन्नुभयो, “अब हुलाकलाई ई–सञ्चार केन्द्रका रूपमा विकास गरिनुपर्छ ।” उहाँले प्रविधिमा नागरिकको पहुँच बढ्दै गएकाले हुलाक सेवालाई पनि जीवन्त राख्न ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्न सकिने बताउनुभयो । “हुलाकलाई विदेशको खबर होइन विदेशको पैसा बोक्ने विश्वासिलो माध्यम बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पहुँच नभएकाहरूले पनि सुविधा लिन सकुन् ।”

विसं २०५० मा मर्कन्टाइल कम्पनीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको बताइएको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी देवसिंह सामन्तले पछिल्लो एक दशकयता व्यक्तिगत चिठ्ठी आउन छाडेको बताउनुभयो । “सरकारी कार्यालयका चिठ्ठी मात्रै आउँछन्, अहिले इमेललाई पनि मान्यता दिएपछि त्यो पनि कम हुँदै गएको छ”, उहाँले भन्नुभयो, “महत्वपूर्ण कागजात पठाउन त अझै हुलाककै प्रयोग गर्छन् ।”

प्रविधिको विकासले चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएकाले हुलाक सेवा प्रयोग गर्नेहरूको सङ्ख्या न्यून भएको सूचना अधिकारी सामन्तको भनाइ छ । “यसमा जनशक्ति बढी छ, सरकारलाई उपलब्धि केही छैन”, उहाँले भन्नुभयो, “यो जनताको सेवाका लागि मात्रै हो ।” तर राजस्व सङ्कलनमा भने कमी नआएको उहाँले बताउनुभयो । “अहिले दैनिक रु आठदेखि १२ हजारसम्म टिकट बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “विशेषगरी लेखनदासहरूले बढी टिकट लग्ने गरेका छन् ।”

सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री र कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काम मात्रै हुने गरेको उहाँले बताउनुभयो । गत वर्षदेखि सूचना तथा सञ्चार मन्त्रालयले पत्रपत्रिका, रेडियो, टेलिभिजनको इजाजतपत्र नवीकरण र स्थानीयस्तरमा दर्ता गर्ने अधिकार दिएको सूचना अधिकारी सामन्तले बताउनुभयो ।

कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको महत्वपूर्ण कागजातलगायतका ५०–६० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । कञ्चनपुरमा जिल्ला हुलाक, इलाका हुलाक र १२ अतिरिक्त हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा एक सय चार कर्मचारी कार्यरत छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।