दृष्टिविहीन आमाको भरमा ‘सात छोरी’

रामेछाप, भदौ २३ । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै कथा छ । परबाट हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखे पनि चमेलीले देख्न छाडेको १५ वर्ष भइसक्यो । उनको पूरा नाम भने चमेली मगर हो ।

मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेलीको दुवै आँखा बन्द छन् । आँखा नदेखे पनि उनलाई हेरचाह गर्ने कोही छैनन् । उल्टै उनी आफ्ना सात छोरीको हेरचाहमा खटिरहेकी छन् ।

छोरीहरूलाई पढाउने, घरव्यवहार धान्ने सबै जिम्मा चमेलीकै थाप्लोमा छ । हुन त, उनका आठ छोरी हुन् । जेठी छोरीको भने विवाह भइसक्यो । अझै सात छोरीको लालनपालन, पठनपाठनलगायत जिम्मेवारी उनकै काँधमा छ ।

माइली र साइली छोरी जुम्ल्याहा हुन् । उनीहरू १२ कक्षामा पढ्छन् । काइँली आठ, ठाइँली ६, अन्तरी पाँच, जन्तरी तीन र कान्छी एक कक्षामा पढ्छन् । आँखा बन्द भएपछि जन्मिएका हुन्, उनका थप चार छोरी ।

‘मेरो आँखामा पहिलेदेखि नै समस्या नभएको भने होइन, सानै उमेरदेखि बारम्बार धमिलो देख्ने, टाढाको वस्तु नदेख्ने समस्या थियो,’ सानी छोरी सुम्सुम्याउँदै चमेली भन्छिन्, ‘तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने दुवै आँखाको ज्योति गुम्यो । मेरा आँखा बन्द भए । दिनरात मेरा लागि केही फरक भएन ।’

आँखा उपचारका लागि चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले कोसिस नै नगरेका भने होइनन् । चमेलीका अनुसार श्रीमानले बलबुत्ताले भ्याएसम्म आँखा उपचारका लागि कोसिस गरे । थाहा पाएसम्मका अस्पताल लगे । सम्पति होउन्जेल खर्च गरे । ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु¥याउन भ्याए । तर, अम्बरबहादुरको सत्प्रयास सफल भएन । अन्ततः चमेलीले आँखाको ज्योति गुमाउनुप¥यो ।

आँखा नदेख्ने समस्यासँगै चमेलीको जीवनमा अर्को बज्रपात थपियो । उनले जीवनसाथी सदाका लागि गुमाइन् । अनि, बेसाहारा बनिन् । श्रीमान् बितेकोसमेत देख्न पाइनन् । मात्रै महसुस गर्न सकिनँ ।

‘श्रीमान् नै गुमाएपछि संसार हेर्ने इच्छा हरायो, जिन्दगीमा खुसीका दिन सकिएजस्तै भयो,’ भावुक बन्दै चमेलीले सुनाइन्, ‘आँखाको ज्योति गुमाउँदाभन्दा जीवनसाथी गुमाउँदाको पीडा असह्य हुने रहेछ ।’

अब उनलाई एउटै सुर्ताले सताउँथ्यो, ‘साना छोरीलाई कसरी हुर्काउने ? कसरी पढाउने ? के खुवाउने ? आफू नै आँखा नदेख्ने, त्यसमाथि सात÷सात छोरीको लालनपालन र पठनपाठनका जिम्मेवारी कसरी सम्हाल्ने ?’

सुरुसुरुमा त छिमेकीले धेरै सहयोग गरे । तर, सहयोग भन्ने कुरा कहाँ सधैं हुन्छ र ? सबैले आआफ्नो घर व्यवहार चलाउनैप¥यो । छोरीलाई खुवाउनै समस्या पर्न थाल्यो, चमेलीलाई । अझ पढाउन लाग्ने थप खर्च, औषधि उपचार खर्च आदि–इत्यादि त छँदै थिए ।

चमेलीलाई समस्यासँगै बाध्यताले पनि जगड्यो । त्यसपछि उनले घर खर्च चलाउन हाते काम सुरु गरिन् । मकैको खोस्टा तथा बिस्कुट अनि चाउचाउको प्लास्टिकबाट चकटी बनाउन थालिन् । पराल–खरको डाला बुन्न थालिन् । बाख्रा तथा भैंसी बाँध्ने दाम्लो, नाम्ले पनि बाट्न थालिन् । त्यही बेचेर उनले खरखाँचो टार्ने मेसो बनाइन् । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।