भोजपुरको शैक्षिक सुधारका लागि ६४ बुँदे अवधारणा पत्र

भोजपुर, २४ भदौ । यहाँको शैक्षिक सुधारका लागि ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अवधारणा पत्र सार्वजनिक गरेको हो ।

अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नुपर्ने कामलाई समेटिएको छ । सङ्गठनले तयार गरेको यो अवधारणा पत्र कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई बुझाउने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषी देखाएर राज्य पन्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले अवधारणा पत्र सार्वजनिक गरेको उहाँको भनाइ छ । “शिक्षा क्षेत्रमा रहेका समस्यालाई उजागर गर्न अवधारणा पत्र सार्वजनिक गरेका छौँ”, अध्यक्ष रेग्मीले भन्नुभयो, “शिक्षक सङ्गठनका तर्फबाट सार्वजनिक गरिएको देशमा नै यो अवधारणा पत्र पहिलो हो, यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा उठान गरेका छौँ, यसको कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई समेत बुझाउने योजना छ ।”

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रममार्फत अवधारणा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तयार गरिएको अवधारणा पत्र राम्रो रहेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समधान हुने उहाँहरुको भनाइ छ ।

नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तीर्थकुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताउनुभयो । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दासमेत कम प्राथमिकतामा राख्ने गरेको धारणा राख्नुभयो । राज्यले शिक्षामा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । “राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ”, अध्यक्ष राईले भन्नुभयो, “जहाँ गुरु वर्गको सम्मान हुँदैन, त्यस्तो अवस्थामा कसरी सभ्य समाज निर्माण हुन्छ, राज्यले यो क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ ।”

एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले आगामी निर्वाचनमा शिक्षा क्षेत्रका समस्यालाई समाधान गर्न दलहरुले घोषणापत्रमा समेटेर लैजानुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो पार्टीले पनि शिक्षकसँग छलफल तथा परामर्श गर्ने योजना रहेकोसमेत सुनाउनुभयो । उहाँले शिक्षाको सुधारका लागि सबै राजनीतिक दलले शिक्षालाई पहिलो एजेण्डा बनाउनुपर्ने धारणा राख्नुभयो ।

“अवधारणा पत्रमा उल्लेख भएका विषयवस्तु उत्कृष्ट छन्”, उपाध्यक्ष खड्काले भन्नुभयो, “यसको कार्यान्वयन तथा नीति निर्माणमा राजनीतिक पार्टीले भूमिका खेल्नुपर्छ, शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा तपाई हामी एकजुट भएर अघि बढ्न आवश्यक छ ।” कार्यक्रमका अवसरमा बढुवा भएका चार शिक्षकलाई सम्मानसमेत गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थकुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । सङ्गठनका तर्फबाट स्वास्थ्य उपचारका लागि सङ्गठनका पूर्वअध्यक्ष प्रकाशचन्द्र खतिवडालाई रु २५ हजार सहयोग गरिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।