खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

खोटाङ, २७ भदौ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।

जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको उहाँको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । “एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो । उहाँ नभएको समयमा हामीले पाँच जनाको शल्यक्रिया गरिसक्यौँ । सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन । अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो ।”

कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत सहायकस्तरको कर्मचारी दुर्घटनामा घाइते भएसँगै अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याइने प्रमुख डा लामाले बताउनुभयो ।

जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा विसं २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन् । जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहरु चिन्तित बनेका हुन् ।

शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य बिरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लानुपर्ने अवस्था सिर्जना भएको छ । अन्यत्र लानुपर्दा कम्तीमा जिल्लामा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

अर्थावस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । तर अर्थावस्था कमजोर भएका परिवार उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएको घटनासमेत रहेका छन् ।

आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन्छ । स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा हुनेखाने परिवार बसाइँ सरिकेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐंसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीहरु बस्दैनन् ।

विसं २०४८ मा १५ शय्या क्षमतामा स्थापना भएको अस्पताललाई गत आर्थिक वर्षबाट ५० शय्यामा स्तरोन्नति गर्ने काम सुरु गरिएको छ । स्थापना भएको ३१ वर्षसम्म स्तरोन्नति नभएको यस अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि सरुवा भएर आएका चिकित्सक भौतिक पूर्वाधार अभाव कारण बस्दैनन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।