झापामा बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

बनियानी, ३१ भदौ । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।”

कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ ।

यहाँबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुने प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । रु १४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी रु २४ करोडको लागतमा काम भइरहेको छ ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिनुभयो । “विश्वमै मिथेन ग्यास व्यवस्थानलाई यो प्रविधि वरदान सावित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “बढ्दो पृथ्वीको तापक्रम घटाउन सहायक हुने भएकाले पनि विश्व बैंकले यो क्षेत्रमा लगानी गर्दै आएको हो ।”

उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताउनुभयो ।

उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि २५ वर्षसम्म फोहर व्यवस्थापनको चुनौती समाधान हुने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । विश्व बैंकको ४० प्रतिशत आर्थिक साझेदारीमा सुरु भएको प्लान्टमा कम्पनीमार्फत हाल सात सय ५० जनाले शेयर लगानी गरेका छन् । एक जना बराबर रु १० हजारदेखि रु एक करोडसम्म लगानी गरेको कम्पनीले जनाएको छ ।

हाल बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५४ लाख दिने निर्णय गरेको छ । फोहर व्यवस्थापनलाई लागत साझेदारीमा नगरपालिकाले उक्त रकम दिने निर्णय गरेको हो । कनकाई र अर्जुनधारा नगरपालिकाले आर्थिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । तथापी बिर्तामोड नगरपालिकाको उक्त निणर्यपछि पाँचदलीय गठबन्धनका दलले ध्यानाकर्षण भएको जनाएका छन् ।

प्लान्ट स्थापना ताका नै कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकासँग आर्थिक सहकार्यका लागि छलफल–वार्ता भएको र सोही अनुरुप कम्पनीले काम अघि बढाएको प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । “फोहर व्यवस्थापन एक मात्र हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न सकिन्छ, धेरै जनाले लगानी गर्नुभएको छ, आर्थिक सुनिश्चितता पनि हुन जरुरी छ ।” बिर्तामोड नगरपालिकासँगै झापाका ठूला सहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।