कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

दुर्गा देवकोटा/टीकापुर, ३ असोज (रासस) ः कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनुभयो । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उहाँलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । “आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैँ भोकै छु”, उहाँले भन्नुभयो, “पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।”

दीपा सुनार र उहाँको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । “घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ”, उहाँले भन्नुभयो, “यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोँच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।” अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आउनुभयो । भिज्दै आएकाले होला उहाँको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उहाँको बच्चालाई रुघाखोकी सुरु भएको छ । “घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौँ, बच्चा भिजेर निर्थुक्कै भएको थियो”, उहाँले भन्नुभयो, “लौ न सरकार भएको महसुस गराइदिनुप¥यो । हामी त बर्बाद भयौँ ।” भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । “हामी त दुःखसुख सहन सक्छौँ, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ”, उहाँले भन्नुभयो, “लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।”

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै सो दिन खटिसकेका जानकारी दिनुभयो । “हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौँँ, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौँ ।”

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनुभयो । “सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छ”, उहाँले भन्नुभयो, “महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।”

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।