दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको चिस्यान केन्द्र उद्घाटनमै सीमित

खोटाङ, ६ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको चस्यान केन्द्र उद्घाटनमै सीमित बनेको छ । उद्घाटन गरेको छ महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

तत्कालीन सङ्घीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाखको लागतमा निर्माण गरिएको सो चिस्यान केन्द्र गत चैत २५ गते उद्घाटन गरिएको हो । चिस्यान केन्द्र निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । तीस टन भाण्डारण क्षमताको चिस्यान केन्द्रमा अहिलेसम्म ताला लगायएको छ ।

बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषिउपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिना दिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको थियो ।

किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणाअनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन ।

पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषक हर्षित भएका थिए । तर चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरु निराश बनेका छन् । जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषिउपज भण्डारण गर्ने गरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो ।

बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “कृषक समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिकरूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।