गुमनाम सतासीधाम बन्यो ऐतिहासिक पर्यटकीय तीर्थस्थल

झापा, ६ असोज । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ ।

विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि पण्डित (महाराज) नन्दकिशोर भारद्वजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्षेत्रमा जाने गर्थे ।

तत्कालीन समयको स्मरण गर्दै घनाजङ्गल र बाटोसमेत नहुँदा मानिस धाममा जान डराउने गरेको पत्रकार विनोद सापकोटा बताउनुहुन्छ तर मुलुक सङ्घीय संरचनामा गएसँगै बनेका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस क्षेत्रको पूर्वाधार विकास, सडकमा गरेको लगानीले धाम क्षेत्र तीर्थस्थल मात्र नभएर धार्मिक पर्यटकीयस्थलमा परिणत भएको उहाँको बुझाइ छ ।

कुनै बेला गुमनाम रहेको ऐतिहासिक महत्वको सतासीधाम अहिले देशविदेशमा परिचित बनेको बताउँदै पत्रकार सापकोटा भन्नुहुन्छ, “हिउँद होस् या बर्खा यहाँ आउने पर्यटकको अहिले कमी छैन ।” पण्डितको स्वप्रयास, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारमार्फत परेका महत्वपूर्ण योजनाका कारण पनि यस क्षेत्रको मुहार फेरिएको उहाँको भनाइ छ । नगर क्षेत्रले मात्र रु दुई करोड ५० लाखको लगानीमा मन्दिर क्षेत्र परिसरमा पार्केटिङ टायल्स बिच्छ्याउने र दुवै क्षेत्रमा ड्रेन निर्माण गर्ने काम गरेको छ । सो क्षेत्रमा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार मन्दिर र द्ववापार ज्योतिलिङलगायतका सुविधासम्पन्न मन्दिर, हरिदेव संस्कृति विद्यालय, सुविधासम्पन्न अतिथिगृह करोडौँ लगानीमा निर्माण भइसकेको सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।

सो क्षेत्रको विकासमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको झै पण्डित (महाराज) नन्दकिशोर भारद्वजको पनि योगदान रहेको जानकारी दिनुभयो । गोल गोवद्र्धन गौशालाका माध्यमबाट भारत, अमेरिका, भुटान, क्यानाडा, अस्ट्रेलियासम्म यस क्षेत्रको प्रचारमा महाराजकै योगदान रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष लिम्बूले विभिन्न दातासँग चन्दा लिएर सो क्षेत्रको विकासमा सरकारले भन्दा बढी लगानी महाराजले गरेको जानकारी दिनुभयो । “महाराजकै कारण यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विश्वमा चिनियो”, उहाँले भन्नुभयो, “प्रचारसँगै सहयोग सङ्कलन गरेर करोडौँ रुपैयाँ यस क्षेत्रको विकासमा लगानी गर्नुभयो ।”

नेपालबाट तेस्रो देश पुर्नवास भएर गएका भुटानी शरणार्थी महाराजलाई भेट्न र यस क्षेत्रको दर्शन गर्न आउँदा समेत सहयोग रकम छाडेर जाने गरेको सुनाउनुभयो । महाराजले नै स्थापना गरेको सतासीधामको गोल गोवद्र्धन गौशालामा हाल पाँच सय बढी गाई रहेका छन् । जहाँ स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएको अध्यक्ष सुब्बाको भनाइ छ ।

पछिल्लो समय धाममा विकासको गतिसँगै धाम सुन्दर, घुम्न र बस्नलायक बनेको अध्यक्ष प्रसाद सुब्बाको भनाइ छ । उहाँले धाम परिसरमा एक सय आठ तुलसीको मोडसमेत निर्माण गरेको जानकारी दिनुभयो । हाल झिलझिलेबाट धामसम्म जाने साढे चार किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको छ । दुई वर्षअघि नै बिजुली बत्ती सो क्षेत्रमा पुगे पनि खानेपानी र सञ्चारको भने अझै सतासीधाममा समस्या रहेको छ ।

धामको नामकरण बारेमा विश्व शब्दकोष विकिपिडियामा महाभारतकालीन समयमा पाण्डवले वनबासको बेला गुप्तबास बसी सताक्षीदेवीको आराधना गरेका र पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटी अश्रुवर्षा गरी खोलो बगाएको हुँदा देवीको नामबाट सतासी हुँदै यस क्षेत्रको नाम सतासीधाम रहेको भन्ने उल्लेख छ ।

यसैगरी भारतको तेजपुरबाट किराँती लिम्बू राजाले ८७ जना ऋषीमुनिलाई गुरुको रूपमा लिएर पहाडतर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकाले गुरुहरू यसै सतासीधामका गुफामा बसेर देवीको तपस्या गरकाले ऋषीमुनिको नामबाट सतासीधाम नाम रहन गएको बताइन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।