नारायणगढ-मुग्लिन सडक : ४ महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध

भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो ।

गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् ।

पृथ्वी राजमार्गको चितवन खण्डा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए ।

“पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भने, “पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।”

उनले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए ।

“जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिराका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ,” उनले भने । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गरे । उनले सडकखण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताए ।

सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए । उनले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिए । मौरी खोलाले बगाएर ल्याएको ढुङ्गा–माटो जम्मा भएकाले पनि समस्या भएको उहाँको भनाइ छ ।

“खोलाको ढुङ्गा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो । दुई पुलमध्ये एउटा पुल पुरिएको छ । पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ”, उनले भने ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउनकै लागि २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ । जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।

सडकखण्डमा पहिरो रोकथामका लागि भन्दै विभिन्न काम गरिए पनि प्रभावकारी बन्न सकेका छैनन् । इन्जिनियर कार्कीले कार्यालयको बजेट र क्षमताअनुसार पहिरो रोकथामका लागि काम गरिरहेको बताए । उनले यसको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र काम गर्नुपर्ने भन्दै त्यसका लागि धेरै बजेट आवश्यक पर्ने बताए । उनले सडकखण्डको अवस्था र गर्नुपर्ने कामका विषयमा सडक विभाग पनि जानकार रहेको बताए ।

पछिल्लो समय आइतबार पनि सो सडकखण्डमा पहिरो जाँदा केहीबेर सडक अवरुद्ध भएको थियो । यस वर्ष असोजको दोस्रो सातासम्म पनि पानी परिरहेको छ । यस वर्ष चाडवाडको समयमा पहिराले दुःख दिने होकी भन्ने चिन्ता थपिएको सवारी चालक रोशन गुरुङ बताउँछन् । नारायणगढदेखि काठमाडौँसम्म दैनिक माइक्रो चलाउने उहाँ पानी पर्नासाथ नारायणगढ–मुलिन सडकको जाममा परिन्छ कि भन्ने चिन्ता हुने गरेको बताए ।

सडकखण्डका दर्जन बढी पहिराको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।