प्लाष्टिकको पोखरीमा आकासे पानी सञ्चित गर्दै तेह्रथुमका किसान

बाला भट्टराई/म्याङ्लुङ, १० असोज : सधैँ हिउँदको समयमा सुक्खा हुने तेह्रथुमका किसानले वर्षाको समयमा आकासबाट परेको पानी जोहो गर्न थालेका छन् ।

हिउँदमा प्लाष्टिकको पोखरीबाट सहजै सिँचाइ सुविधा हुन थालेपछि यहाँका किसानको दैनिकी पनि फेरिएको छ । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको अभाव नभए पनि गाईवस्तु र सिँचाइका लागि भने जहिले अभाव हुने गरेको छ । तर, अहिले जिल्लाको छथर गाउँपालिकाका किसानले हिउँद याममा हुने पानीको अभाव टार्न वर्षायाममा आकासबाट आउने पानी जम्मा गर्ने गर्छन् ।

उनीहरुले आकासबाट वर्षायाममा परेको पानी घर नजिकै प्लाष्टिकको पोखरी बनाएर जोहो गर्ने गरेका छन् । यसरी जम्मा गरेको पानीलाई हिउँदमा तरकारी बालीमा सिँचाइमा प्रयोग गर्दै आएका छन् । गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि छथर–६ का शेरबहादुर पौडेलले घर नजिकै प्लाष्टिकको पोखरी बनाएर वर्षामा आउने पानी सङ्कलन गर्नुभएको छ । अघिल्ला वर्षमा उहाँको बारी हिउँद याममा सुक्खा हुन्थ्यो । बारीमा केही फल्दैन थियो । पानीको मुहान सुक्दै जाँदा खानेपानीकै समस्या थियो ।

“स्थानीय सरकारले प्लाष्टिक पोखरी बनाउन अनुदान दिएपछि सिँचाइ गर्न ठूलो राहत मिलेको छ”, उहाँ भन्नुभयो, “हामीलाई खानेपानी नै समस्या थियो । तरकारीमा सिँचाइ गर्न त झन परैको कुरा, तरकारी किनेरै खानुपथ्र्यो । तर, हामी अहिले तरकारी बेच्न थालेका छौँ ।”

पौडेल जस्तै छथरकै वासुकला विश्वकर्माले पनि वर्षमा आकासबाट आउने पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर तरकारीमा सिँचाइ गर्दै आउनुभएको छ । उहाँले बनाएको प्लाष्टिकको पोखरी अहिले पानीले टन्न भरिएको छ ।

आकासबाट पानी परेको बेला उहाँलाई आकासको पानी प्लाष्टिक पोखरीमा लगाउन भ्याइनभ्याइ हुन्छ । पानी पर्दा हजार काम छोडेर पनि उहाँको ध्यान आकासे पानी जम्मा गर्नतिरै हुन्छ । “पानी पर्दा त सबै काम छोडेर पनि पानी जम्मा गर्नुपर्छ नि !”, उहाँले भन्नुभयो, “प्लाष्टिकको पोखरीमा पानी जम्मा गर्दा कम्तीमा हिउँदमा तरकारी लगाउन त सजिलो हुन्छ ।”

वासुकलाले यसरी आकासे पानी जम्मा गरेरै भए पनि हिउँदे याममा अकबरे खुर्सानीे, आलु, प्याज, लसुनलगायतका तरकारी खेती गर्दै आउनुभएको छ । यसबाट उहाँले मनग्यै आम्दानी पनि गर्दै आउनुभएको छ ।

पानीकै अभावका कारण सिँचाइ गर्न नसक्दा समस्या झेल्दै आएका यहाँका किसानलाई अहिले हिउँदयाममा सिँचाइको कुनै समस्या छैन । उनीहरुले पानी पर्दा घरको छतबाट झर्ने पानी पाइपबाट पोखरीमा सङ्कलन गर्ने गरेका छन् ।

साउन भदौमा धेरै पानी पर्ने भएकाले यतिबेला परेको पानी पोखरीमा सङ्कलन गरी सुक्खायाममा तरकारी, फलफूल खेती तथा अन्य बालीमा सिँचाइ गर्ने गरेको छथर –५ की कृष्णकुमारी पौडेलले बताउनुभयो । तेह्रथुमको छथर गाउँपालिकालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । त्यही भएर गाउँपालिकाले पनि सुक्खाग्रस्त क्षेत्रका किसानलाई लक्षित गरी ‘एक घर एक प्लास्टिक पोखरी’ कार्यक्रम ल्याएको हो ।

छथरको आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदापलगायतका गाउँमा हिउँदको समयमा सिँचाइको सुविधा छैन । खासगरी यो क्षेत्रमा सिँचाइको सुविधा नहुँदा मानिसको बसाइँ सर्नेक्रम पनि तीव्र बनेको छ । यसलाई रोक्न गाउँपालिकाले किसानको साझेदारीमा अनुदानमा प्लाष्टिक पोखरी प्रदान गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

“गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक पोखरी’ कार्यक्रम ल्याएपछि यहाँका किसानलाई हिउँदको समयमा सिँचाइ गर्न कुनै समस्या छैन”, तिगेला भन्नुभयो, “त्यसका अतिरिक्त प्लाष्टिकको पोखरी बनाएर पनि सिँचाइ गर्न सकिँदोरहेछ भनेर किसानले बुझ्न थालेका छन् । यसले किसानलाई निक्कै सहज पनि बनाइदिएको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।