सार्वजनिक जग्गा मिच्ने बढे

शर्मिला पाठक/काठमाडौँ, १५ असोज । काठमाडौँ महानगरपालिकाले अवैध ढङ्गबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी भएको जनाएको छ । कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नगरिएको र सार्वजनिक जग्गा मिचेर बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन सुरु गरेको हो । कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो, “धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनैरुपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको सङ्ख्या बढी पाइएको छ ।”

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको बताइएको छ । गत साउन १ गते जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि कामपाले डोजर प्रयोग भत्काउने काम सुरु गरेको हो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने भएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रका बढी त्यस्ता संरचना भत्काइएको छ ।

डेढ महिनामै १३५ संरचना भत्काइयो

कामपाका अनुसार यस अवधिमा ५६ स्थानका एक सय ३५ संरचना भत्काएको बताइएको छ । जसमा सबैभन्दा बढी बानेश्वर क्षेत्रको हो । यही भदौ ६ गतेदेखि सुरु गरिएकोे अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर नर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्गमा दुई वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

वडा २६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् । वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ । वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।

वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनाधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ ।त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ ।

दसैँमा पनि रोकिँदैन भत्काउने काम

नेपालीहरुको महान पर्व वडा दसैँ सुरु भइसकेको छ । कामपाले यस समयमा पनि अवैध संरचना हटाउने काम जारी राख्ने जनाएको छ । कामपाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँको समयमा पनि निरन्तरता दिने कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले जनकारी दिनुभयो ।

कानुनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ निरीक्षक भण्डारीले भन्नुभयो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ ।
अन्य स्थानीय तह पनि सक्रिय
काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् । कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएको संरचना भत्काउन थालेको हो । कामपाले सुरु गरेलगत्तै कीर्तिपुर नगरपालिकाले पनि गत भदौ ९ गतेदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैधरूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाको उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै होइन उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई विस्तारै अनुशरण गर्न थालेका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।