भोजपुरे खुकुरीको माग बढ्यो, कालीगढ भने अभाव

निरोज कोइराला/टक्सार (भोजपुर), १६ असोज । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुसार दक्ष कालीगढको अभाव देखिएको खुकुरी व्यवासायीको भनाइ छ ।

उर्मिला आरन उद्योगका व्यवस्थापक हीरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगढको अभावका कारण समस्या देखिने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोजपुरमा बनेका खुकुरी स्थानीय बजारमा मात्र होइन, अन्य जिल्ला साथै विदेशमा समेत माग हुँदै आए पनि खुकुरी बनाउने कालीगढ भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालीगढलाई भने काम दिएको छु ।”

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गर्नुभएका अर्का व्यवसायी गणेश विक भन्नुहुन्छ,“हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात मानिन्छ तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खकुरी उद्योगबाट थोरै कालीगढले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे कोथीमोडालगायत खुकुरी उत्पादन हुने गरेको छ ।

उद्योगबाट उत्पादन भएका खुकरी हाल स्थानीय बजारका खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा आएसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाईमा समेत भोजपुरे खुकुरी उपहारस्वरुप प्रदान गर्ने गरिन्छ । यहाँ आउने जानेलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाई गर्ने गरेको त्यहाँका कार्यालय सचिव मीना कार्की बताउनुहुन्छ ।

“भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी” उहाँ भन्नुहुन्छ ,“बिगतमा द्वन्द्व हुँदा बन्द भएको खुकुरी उद्योगहरु शान्ति प्रक्रियाको थालनीसँगै पुनः ब्यूँतिएका छन् ।” जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाटसमेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरुपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउनुहुन्छ ।

उहाँले महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहनुभएको छ । महेन्द्र भन्नुहुन्छ , “बीचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालीगढ राख्नुभन्दा पनि आफैले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”

विसं २०४७ देखि नै आफूले खुकुरीको व्यवसाय गर्दै आइरहेको बताउँदै उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठ आफूसँग बिक्रीका लागि सात सयदेखि आठ हजारसम्मको खुकुरी रहेको बताउनुहुन्छ । जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणका लागि सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
भोजपुरमा १९६५ सालदेखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिनुभएको बताइन्छ । उहाँको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।

सजावटका लागिसमेत यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायत मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवा वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि जिल्लामा कालीगढको अभाव हँुदै जान थालेको
हो । खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थ जुटाउन समस्या हुने, त्यहाँमाथि युवालाई धेरै पैसा कमाउने कामतर्फ आकर्षित हुन थालेका कारण पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्मा बताउनुहुन्छ । खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट पनि आवश्यक कच्चापदार्थ, कोइला, काठमा सहजता तुल्याउनुपर्ने माग खुकुरी व्यवसायीको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।