आठ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

भरतपुर, २६ असोज । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन ।

पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नुभयो ।

“निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौँ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौँ तर पुल निर्माणले गति लिन सकेन ।” उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरुको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनुभयो । पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उहाँले चेतावनी दिनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताउनुभयो । उहाँले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताउनुभयो । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उहाँले बताउनुभयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०÷४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपथ्र्यो । तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार÷पाँचपटक म्याद थप गरिसकिएको छ ।

सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनुभयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । “भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर प¥यो”, उहाँले भन्नुभयो, “यो विचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।