पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

गण्डकी, २८ असोज । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको छ भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुग्नुभएको छ ।

यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।