माछापुछ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

जमुना वर्षा शर्मा/पोखरा, ३१ असोज । प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चारदशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका छन् । ११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।

यतिबेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे« र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दङ्ग देखिन्छन् । आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेस प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिनुहुन्थ्यो । खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रे«तिर आँखा लगाउँदै उहाँले भन्नुभयो, “यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ”, क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई ताजा बनाउँदै भन्नुभयो, “खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो ।”

उहाँले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे« साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताउनुभयो । “खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।”

नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्री पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताउनुभयो । “माछापुच्छ्रे« र अन्नपूर्णको हिमशृङ्खलाको काखमा रहेको पोखरा रङ्गशालाको खेल मैदानमा खेल्दा क्रिकेट खेलाडीलाई निकै उत्साहित बनाउँछ, पोखराको सुन्दरता अनुपम छ”, उहाँले देशविदेशका विभिन्न खेल मैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाउनुभयो ।

“हिमालकै देशको खेलाडी भए पनि खुलेको हिमशृङ्खला देख्दा कहिल्यै मन थाक्दैन, हेरिरहुँ लाग्ने । यहाँ आएपछि मन आनन्दित हुन्छ र घुम्न निस्कँदा पनि विदेश गएको झल्को आउँछ”, क्याप्टेन क्षेत्रीले भन्नुभयो, “माछापुच्छ्रे« अन्नपूर्णलगायत हिमशृङ्खलालाई हेर्दै आत्मविश्वास जगाएर खेल्ने अवसर अरु ठाउँमा विरलै पाइन्छ तर पोखरा यस्तो सहर हो जहाँ आँखा अगाडि हिमाल हेर्दै खेल्ने अवसर पाइन्छ ।” उहाँले तालतलैया, मिलेको बस्ती, हरियाली डाँडापाखा र सफा वातावरणले पनि खेलाडीलाई मोहित गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले पोखरा सहरको सुन्दरता अवर्णित रहेको बताउनुभयो । “खेलाडीका लागि सबैभन्दा पहिला प्रफुल्ल मन र आत्मविश्वास आवश्यक पर्छ, पोखराको खेल मैदानमा उत्रेका सबै खेलाडीमा यो भाव देखिन्छ, पोखराको खेलमैदानले यो ऊर्जा खेलाडीमा जगाएको छ ।” उहाँले भन्नुभयो, पोखरालाई ‘स्पोर्टस्को सिटी’ भनेर पनि चिनिन्छ । “म पनि २०४० सालमा पोखराको मैदानमै खेलेको खेलाडी हुँ, यहाँका सुन्दर दृश्यले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि उत्तिकै लोभ्याउँछ । स्वच्छ र सफा वातावरण सधँै खेलाडीको रोजाइ हुने गर्दछ जुन पोखरामा छ ।”

मुख्य प्रशिक्षक टमटाका अनुसार अहिले दुई वटा विभागीयसहित नौ वटा क्रिकेट टोली प्रतियोगितामा सहभागी छन् । खेलाडीका लागि राज्यले आर्थिक पाटो सवलीकरण हुने वातावरण सिर्जना गर्नसके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको सङ्ख्या बढ्ने देखिन्छ ।

पोखरामा भइरहेको राष्ट्रिय खेलमा म्याग्दी जिल्लाबाट सहभागिता जनाउनुभएका तेक्वान्दो खेलाडी राजकुमार परियारले पनि पोखराको सुन्दर वातावरणमा आफ्नो खेल प्रदर्शन गर्न निकै आतुर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “होम ग्राउण्डमा खेल्दा यसै पनि आनन्द लाग्छ दर्शकको अपार माया र साथले बलियो प्रतिस्पर्धीलाई पनि जित्न सकिन्छ भन्ने लाग्दोरहेछ, साथसाथै आफ्नै प्रदेश भएकाले पनि हावापानी मिल्दा पनि फूर्तिलो बनाएको अनुभव भएको छ ।” खेलाडी परियारले खेलाडीका लागि पोखराको हावापानी र सुन्दरताले थप ऊर्जा थप्ने बताउनुभयो ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले सयौैँचोटी पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने सहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको छ भन्नुभयो । “अहिले दुईसय तीन पौडी खेलका विभिन्न इभेन्टका खेलाडी पोखरामा छन् , त्यति नै मात्रामा खोलाडीका आफन्त पनि सहभागी छन् । पोखराको सुन्दरताले खेलाडी निकै उत्साहित छन् ।” उहाँले बताउनुभयो, “खुलेको आकाश र टल्केको माछापुच्छ्रे«को आँगनमा आफ्नो खेलको क्षमता प्रदर्शन गर्दा खेलाडी निकै खुसी भएका छन्।”

नवौँ राष्ट्रिय खेलले पोखराको पर्यटनलाई थप प्रवद्र्धन गर्नेसमेत विश्वास व्यक्त गर्दै

अध्यक्ष बज्राचार्यले भन्नुभयो, “खेलमा हारजित हुनु स्वाभाविक हो । यति खेलमा पराजित भएका खेलाडी पनि पोखराको सुन्दरता स्वच्छ सुन्दर हिमाल तथा ताल हेर्दा र घुम्दा ‘रिफ्रेस’ बन्न सघाउँछ ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।