१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुरेश आचार्य/सुर्खेत, ४ कात्तिक । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो ।

कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन । सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो ।

करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुनसकेको छैन ।

चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्र हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिनसकेको छैन ।

स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् । “जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुप¥यो । विकासका नाममा उठिबास त लगाउनु भएन नि”, वीरेन्द्रनगर–२ की अमृता कार्कीले भन्नुभयो, “हामी जग्गा दिन्छौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ ।”

उहाँले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको बताउनुभयो । निर्माणाधीन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ । विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।

“विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ । केही ठाउँमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ ।” निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उहाँको भनाइ छ ।

सम्झौताविपरति साँघुरियो सडक

चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकामा पटक–पटक म्याद थप भइरहेको छ । पछिल्लोपटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माणकार्य पूरा गर्नुपर्ने सम्झौता थियो । तर अवरोध कायमै रहेकाले काम सकिने कुनै टुङ्गो छैन । सङ्घीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकारमातहत छ ।

रु १३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो । तर जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ । पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनुपरेको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ । सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकाले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने जानकारी दिनुभयो ।

“समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र सङ्घीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिट्टै काम अघि बढ्छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।