मङ्सिर १४ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान

सिबी अधिकारी/काठमाडौँ, २१ कात्तिक । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मङ्सिर १४ गते) यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ ।

जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताउनुभयो ।

“जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ, तर उडान सङ्ख्या तत्कालका लागि सीमित हुनेछ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।”

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो ।

एरो थाईको जहाजबाट यान्त्रिक उडान

यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको चेकजाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । उहाँका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ ।

सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।

चराविज्ञले छोटो रिसर्च गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताउनुभयो ।

“विमानस्थल नजिकै ‘डम्पिङ साइट’ र चरा बासस्थानबारे विज्ञहरुबाट ‘असिसमेन्ट अडिट’ गरी साँझ परेपछि सञ्चालन गर्ने वा उपयुक्त वातावरणमा सञ्चालन गर्ने निर्णय हुनेछ । चराचुरुङ्गीको गतिविधि कम हुने मौसममा विमानस्थलमा उडान गरिनेछ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवद्र्धधन गर्ने सरकारी लक्ष्य छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड-१९ महामारी लगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ ।

रिट्ठेपानी डाँडा कटान सुरु

ठूला जहाजको उडान एवम् अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको कार्य आजदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । डाँडा कटानका लागि आवश्यक टेन्डर प्रक्रिया पूरा गरी काम सुरु गरिएको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । दुई हप्तामा १४ मिटर डाँडा काटेर यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ ।

आयोजना प्रमुख मुनाकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवम् अवतरण गर्ने मार्गमा अवरोध हुनु हुँदैन । रिट्ठेपानी डाँडा धावनमार्गको ‘अप्रोच’मा पर्छ । धावनमार्गमा ‘४० मिटर ‘अप्स्ट्र्याकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडा कटान भएपछि दुवै खाले उडान सहज हुनेछ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।