२२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का

बझाङ, २३ कात्तिक । नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो । नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे ।

मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाए भने पाँच जना घाइते भए । त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ ।(रासस)

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल बैतडीमा
बैतडी, २३ कात्तिक (रासस) :
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आइपुुग्नुभएको छ । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू यहाँ आउनुभएको हो ।

उहाँहरूलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लगायतले फूलमालासहित स्वागत गर्नुभयो ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसक्नुभएको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सत्तारूढ शीर्ष नेताहरू यहाँ पुगेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उहाँहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ । उहाँहरूले आजै दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।