प्रधानसेनापति शर्मा खोटाङमा
खोटाङ, २५ कात्तिक । निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् ।
निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।
उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन् । भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन् । ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्देश्यका बारेमा सेयरिङ गर्नुभएको थियो ।’
नेपालमा डिजिटल प्लेटफर्म
– भेषराज कार्की
काठमाडौँ, २५ कात्तिक (रासस) ः ओटिटी (ओभर द टप)प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे ।
अन्तर्राष्ट्रियरूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।
सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास गरिरहेको बताउनुभयो । “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्मसमेत उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्षपश्चात म सञ्चालकको रूपमा जोडिएँ”, अभिनेता लामिछाने भन्नुहुन्छ, “नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्त छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।” उहाँले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताउनुभयो ।
आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवाल भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम देख्नुहुन्छ । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहनुभएका अग्रवालले सुरक्षाको चुनौती रहेको बताउनुभयो । “पाइरेसी गर्नेलाई कडा कारबाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्ममार्फत आकर्षित नगरेका होइनाँै, तर लकडाउनले केही असर ग¥यो”, सञ्चालक अग्रवालले भन्नुभयो । आइफ्लिक्स बन्द भएपछि उहाँसहितको ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पु¥याइरेहेको छ ।
अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिनुभयो । “सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडि एक जनालाई सजायसमेत दिलाएका थियौँ । पाइरेसीसम्बन्धी शिक्षाको कमीले नै यस्तो भइरहेको छ”, अभिनेता लामिछानेले भन्नुभयो, “अहिले ओटिटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माता आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।”
उहाँले एपमा ‘कबड्डी ४ः द फाइनल म्याच’ रिलिज गर्नुभएको छ । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्मसमेत हेरिने विश्वास उहाँको छ । “अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाखपटक डाउनलोड भइसकेको छ । उहाँहरूमा नेपाली ओटिटीमा फिल्म हेर्ने बानी विकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौँ”, अभिनेता लामिछानेले भन्नुभयो ।
निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडि एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताउनुभयो । “हामी कहाँ भएको ओटिटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु”, निर्देशक गुरुङले भन्नुभयो । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फणिन्द्र कटवालले बताउनुभयो । “सञ्चार मन्त्रालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । कार्यविधि तयार गरेर ओटिटीलाई सघाउने हाम्रो योजना छ”, सदस्य कटवालले भन्नुभयो । उहाँकै संयोजकत्वमा बोर्डले ओटिटीलाई नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछ ।
नेपालमा सञ्चालनमा आएका ओटिटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाइरहेका छन् । ठूलो पर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन ।


