खोटाङका आठ युवाले देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई दिए हट एण्ड कोल्ट वाटर फिल्टर
खोटाङ, २७ कात्तिक । खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर प्रदान गरेका छन् । गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद गरिएको एक थान हट एण्ड कोल्ट वाटर फिल्टर ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई प्रदान गरेका हुन् ।
युवा रोशन श्रेष्ठ, नवराज रिजाल, आदित्य भट्टराई, उपेन्द्र आचार्य, सन्तोष पोखरेल, कविराज रिजाल, सफल आचार्य र रुपक परियारको टोलीले वृद्धवृद्धालाई कार्यालयमा तातोचिसो पानी पिउने व्यवस्थाका लागि आइतबार ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हट एण्ड कोल्ट वाटर फिल्टर हस्तान्तरण गरेका छन् ।
संघलाई हट एण्ड कोल्ट वाटर फिल्टर सहित दुई थान जार र एकथान मल्टिप्लक प्रदान गरिएको श्रेष्ठले बताए । श्रेष्ठकै अगुवाईमा वृद्धवृद्धालाई तातो चिसो पानी पिउनका लागि हट एण्ड कोल्ट वाटर फिल्टर उपलव्ध गराइएको हो ।
भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा ः गुरुङ
वालिङ, २७ कात्तिक (रासस) ःनेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।
आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उहाँले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गर्नुभएको हो ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेता गुरुङले देशमा मौलाएको भ्रष्टाचार तथा भ्रष्टाचारजन्य प्रवृत्तिलाई खोजीखोजी निर्मूल गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
“देशको विकास हुन नसक्नु र देश अधोगतितर्फ धकेलिनुको पछाडि भ्रष्टाचार जोडिएको छ”, उहाँले जोड दिनुभयो, “जबसम्म भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्न सक्दैनौँ तबसम्म देशको विकास सम्भव छैन, तसर्थः देशमा भएका भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएका ठूलासाना सबैलाई कानुनको कठघरामा उभ्याउनै पर्छ ।”
जोखिमयुक्त अवस्थामा रहेका स्याङ्जाका ग्रामीण सडक स्तरोन्नति, जिल्लाको लाइफलाइनका रुपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु लेन’ को सडक बनाउने, जिल्लामा प्रविधियुक्त र दक्ष उपकरणहरुसहित सुविधासम्पन्न अस्पताल निर्माण, स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थानीय शिक्षाको विकास, नीतिगत तथा कानूनी समस्या संशोधनका लागि आवाज, भौतिक पूर्वाधारको विकासमा जोड, पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचानसँगै त्यसलाई आर्थिक आम्दानीका रुपमा विकास गर्ने, उद्यमशीलताका क्षेत्रलाई प्राथमिकता दिने र युवालाई स्वदेशमै रोजगार बनाउने अन्य एजेण्डा रहेका छन् ।
क्षेत्र नं २ मा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललगायत अन्य दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले नेत्री अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरी मन्त्री बन्नुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा दुई पार्टीका केन्द्रीयस्तरका दुई नेताहरुबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारका कारण दुवैको मत काटिनसक्ने देखिन्छ ।


