राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड
चितवन, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।
उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने
काठमाडौँ, २७ कात्तिक (रासस) :सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिनुुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।


