केपिलासगढी गाउँपालिकामा ‘बुहारीलाई शिक्षा’ कार्यक्रम

खोटाङ, ३० कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ । वडा कार्यालयसँगको समन्वयमा मंसिर मसान्तभित्र पढ्न इच्छुक बुहारीको तथ्यांक संकलन गरेर ल्याउने जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । 

सातवटा वडा रहेको गाउँपालिकाले बुहारीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यस्ता इच्छुक बुहारीलाई कक्षा १२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेसनरीलगायतमा गाउँपालिकाको सहयोग रहनेछ । बुहारी शिक्षा कार्यक्रमका लागि गाउँपालिकाले आन्तरिक स्राेत परिचालन गर्ने तयारी गरेको छ ।

घरमा ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए । ‘आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ । महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ तब मात्रै समाजको परिवर्तन सम्भव छ,’ अध्यक्ष राईले भने, ‘बुहारी शिक्षा कार्यक्रमबाट महिलाको क्षमता वृद्धि हुनेछ । कक्षा १२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफै अघि बढ्लान् । समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षा गरेका छौँ ।’ 

गाउँपालिकामा एक प्रस्तावितसहित आठ मावि छन् । पढ्न इच्छुक बुहारीले पायक पर्ने शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने छन् । घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क ट्युसन र कोचिङको व्यवस्था मिलाइने अध्यक्ष राईले बताए । ‘घरको कामले विद्यालय जाने समय भएन । विद्यालय समयमा घरधन्धामै बस्नुपर्ने अवस्थामा ट्युसन र कोचिङको व्यवस्था मिलाउँछौँ,’ राईले भने, ‘खाली पढ्छु भन्ने इच्छाशक्ति भए पुग्छ । त्यस्ता बुहारीलाई पढ्न कुनै खर्च लाग्ने छैन । मात्र पढिदिन पर्‍यो ।’ 

पढ्न इच्छुक बुहारीको तथ्यांक र आवेदन संकलनका लागि गाउँपालिकाले बुहारी शिक्षा अध्ययन आवेदन फारम तयार पारेको छ । शिक्षा शाखा र महिला तथा बालबालिका शाखाले सोही फारमको आधारमा पढ्ने बुहारीको आवेदन संकलन गर्दैछन् । बुहारी शिक्षा अध्ययन आवेदन फारममा नाम, ठेगाना, अध्ययन गरेको विद्यालय, सम्पर्क नम्बर, विवाह मिति, श्रीमान्, आमा र बुवाको नाम, कक्षा ८ वा एसइई उत्तीर्ण वर्ष, अध्ययन गर्न नसक्नुका कारण लगायतका विवरण भर्नुपर्ने छ । बुहारी शिक्षा कार्यक्रमले महिलालाई पढ्नका लागि उत्प्रेरित गर्ने र महिलाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।