खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ, ३० कातिक । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ (पोका पार्ने काम), सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाउने काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो । “सदरमुकामदेखि टाढा पर्ने मतदानस्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई मङ्गलबारबाट आवश्यक सामग्रीसहित पठाउन थालिएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मङ्सिर–१ गतेभित्र जिल्लाका सबै मतदानस्थलमा पुगिसक्ने छन् ।”

दश स्थानीय तह रहेको जिल्लामा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । दुईवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो । कर्मचारी र सुरक्षाकर्मीका लागि दिक्तेलस्थित जिल्ला समन्वय समिति कार्यालय तथा कैंदीका लागि मुडेस्थित जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिनुभयो । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

निर्वाचनमा एक हजार पाँच सय ५८ जना कर्मचारी, जनपथ र म्यादी गरी एक हजार आठ सय ४६ प्रहरी र आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको जिल्लामा वामलोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा वामलोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत तथा एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (ख) मा कांग्रेसका १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क) मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदूर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (क)मा स्वतन्त्रसहित आठ÷आठ तथा प्रदेशसभा (ख)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिएसँगै जिल्लास्थित सबै राजनीतिक दल तथा उम्मेदवार आ–आफ्नो पक्षमा मतदाता तान्ने अन्तिम कसरतमा रहेका छन् । जिल्लास्थित सबै राजनीतिक दलका नेता तथा उम्मेदवार यतिबेला चुनावीसभा, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । वामलोकतान्त्रिक गठबन्धनले आज दिक्तेलमा वृहत चुनावीसभा आयोजना गरेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।