ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सुन्दरहरैँचा, २ मङ्सिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए । गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरुले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । (रासस)

निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही
काठमाडौँ, २ मङ्सिर (रासस)ःयही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिको पालना नभएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ । उक्त ऐनको दफा २४ (५) अनुसार कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न, अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेकाले निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई आयोगले लेखी पठाएको छ ।

मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिस्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न–नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोगले निर्देशन दिएको छ ।

मतदानका दिन मतदान केन्द्रको वरपर कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकरलगायत पहिरन वा चिजवस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।

सो अवधिमा सामाजिक सञ्जाल तथा अनलाइन र सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्न– नगराउन र यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गर्नाका साथै सोको अनुगमन गर्न पनि विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।